बनमाराको झाडी बीच हराउँदै पञ्चकन्याको कात्तिकेश्वर प्रावि



भौतिक संरचना अलपत्र रहेको कात्तिकेश्वर विद्यालय

नुवाकोट,असार ३१ । जिल्लास्थित पञ्चकन्या गाउँपालिकाको एक विद्यालय बनमाराको झाडी बीच हराउँदै गएको छ। २०४५ सालमा स्थापना भएको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारमा रहेको कात्तिकेश्वर विद्यालय विद्यार्थीको अभावमा २०७० सालमा मर्ज भएसंगै विद्यालयको भौतिक पक्ष प्रयोगविहिन भइ झाडीमा परिणत भएको हो।

गाउँघरका स्थानीय शहर केन्द्रित हुनु, भएका अभिभावकले कम बच्चा जन्माउनु, जन्मिएका बच्चालाई गुणस्तरीय शिक्षाको खोजीमा अभिभावकले बोर्डिङ विद्यालय रोज्दा तत्कालीन समयमा विद्यालय बन्द भएको विद्यालयका पूर्व प्रधानाध्यापक समेत रहेका भेडाबारी माध्यमिक विद्यालयका प्रधानाध्यापक जयबहादुर लामिछानेले गुनासो गरे। विद्यालय स्थापनाको सुरुवाती समयदेखि नै प्रधानाध्यापकका भूमिका निर्वाह गरेका लामिछानेले भने- ‘विद्यालयमा अध्ययन गरेका विद्यार्थी उच्च पोस्टमा काम गर्छन्, जुन विद्यालय विद्यार्थी अभावमा हाल बन्द हुन पुग्यो।’

२०७० सालमा मर्ज भएको सो विद्यालयमा अन्तिम वर्ष ३ जना विद्यार्थी अध्ययनरत थिए। लामिछानेसहित जगदीश पाठकको दुईवटा दरबन्दी रहेको सो विद्यालयमा सुरुका वर्ष १-३ कक्षामा ७० देखि १०० जनासम्म विद्यार्थी अध्ययन गरेको शिक्षक लामिछाने स्मरण गर्छन्। विद्यालय अन्यत्र गाभिएपनि भौतिक संरचना संरक्षण हुन नसकेकोमा आफू पनि दुखी रहेको उनले बताए। कुल १ रोपनी जग्गा क्षेत्रफलमा फैलिएको विद्यालयमा तीन कक्षाकोठा तथा फर्निचर कुहिएर भत्किएर खेर गएको छ।

सामुदायिक विद्यालयमा पछिल्लो केहि वर्ष अघिसम्म आकर्षण घट्दै गएको सरोकारवालाहरु बताउँछन्। ग्रामीण सडक व्यवस्था सुधारसंगै अभिभावकहरु बोर्डिङ विद्यालयमा आफ्नो बालबालिका भर्ना गर्न थालेकाले यस क्षेत्रमा विद्यार्थी संख्या घट्न थालेको उनीहरु दावी गर्छन् । जसको परिणामत भएका विद्यालय समेत मर्ज हुने सम्भावना बढ्दै गएको छ।

पञ्चकन्या गाउँपालिकाका शिक्षा शाखा प्रमुख चक्रदेव जोशीका अनुसार सेवा क्षेत्रमा हाल बालबिकास तहका २ वटा, आधारभूत तहका १८ र माध्यमिक तहका १० गरि कुल ३० वटा सरकारी विद्यालय रहेका छन् । जस अन्तर्गत केहि विद्यालय विद्यार्थी अभावमा मर्च हुने अवस्था पुगेको प्रमुख जोशीले बताए।

प्रतिक्रिया दिनुहोस्