तिहारमा विद्युत् आपूर्ति सहज बनाउन विशेष तयारी, मागभन्दा ८०० मेगावाट बढी उत्पादन छ, बत्ती जादैन



काठमाडौँ,कात्तिक २१ । नेपाल विद्युत् प्राधिकरणले तिहार तथा छठ पर्वका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न विशेष तयारी गरेको छ। लक्ष्मीपूजाका दिन विद्युत्को अधिकतम माग करिब १ हजार ७०० मेगावाट पुग्ने अनुमान गरिए पनि आन्तरिक उत्पादनबाटै माग धान्न सकिने प्राधिकरणले जनाएको छ।

तिहारका समयमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन उत्पादन, प्रसारण तथा वितरण प्रणालीलाई चुस्त राख्नुका साथै प्राविधिक जनशक्तिलाई चौबीसै घण्टा तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको हो।

पर्वका समयमा विद्युत् प्रणालीको नियमित सञ्चालन तथा व्यवस्थापनका लागि प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको अध्यक्षतामा वरिष्ठ व्यवस्थापन टोलीको बैठक बसेको छ। बैठकले सम्भावित चुनौतीको व्यवस्थापन र प्राविधिक तयारीबारे छलफल गरेको थियो।

त्यस्तै, प्रणाली सञ्चालन विभाग, ग्रिड सञ्चालन विभाग तथा वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गतका प्रादेशिक र प्रदेश डिभिजन कार्यालय प्रमुखहरूसँग भर्चुअल बैठक गरी आवश्यक निर्देशन दिइएको छ।

कार्यकारी निर्देशक श्रेष्ठले चाडबाड अवधिभर विद्युत् अवरोध हुन नदिन सम्पूर्ण संयन्त्र परिचालन गर्न निर्देशन दिएका छन्। विद्युत् आपूर्तिमा समस्या देखिए तत्काल मर्मत गरी सेवा सुचारु गर्न प्राविधिक टोलीलाई तयारी अवस्थामा रहन उनले आग्रह गरेका छन्।

प्रसारणलाइन तथा वितरण प्रणालीको मर्मतसम्भार तत्काल सम्पन्न गर्न, ‘नो लाइट’ सेवामा आउने फोन नियमित उठाउन र उपभोक्ताका गुनासो तत्काल सम्बोधन गर्न पनि निर्देशन दिइएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार यस वर्ष लक्ष्मीपूजाका दिन साँझ विद्युत्को अधिकतम माग करिब १ हजार ७०० मेगावाट पुग्ने अनुमान छ। सो अवधिमा मुलुकभर विद्युत् उत्पादन करिब २ हजार ५०० मेगावाट पुग्ने प्रक्षेपण गरिएको छ। आन्तरिक मागभन्दा उत्पादन झन्डै ८०० मेगावाट बढी हुने भएकाले तिहार तथा छठमा विद्युत् आपूर्ति सहज र पर्याप्त हुने कार्यकारी निर्देशक श्रेष्ठले बताएका छन्।

पर्वभर विद्युत्को माग र आपूर्तिको निगरानी गर्न प्रणाली सञ्चालन विभाग, ग्रिड सञ्चालन विभाग र वितरण केन्द्रहरूबीच चौबीसै घण्टा समन्वय गरिनेछ।

यसैबीच, प्राधिकरणले तिहार तथा छठ पर्वमा विद्युत्को सुरक्षित प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेको छ। घरमा प्रयोग हुने विद्युतीय उपकरण तथा तारको अवस्था जाँच गर्न, गुणस्तरहीन सामग्री प्रयोग नगर्न र विद्युत्सम्बन्धी समस्या देखिए आफैँ मर्मत नगरी दक्ष प्राविधिकको सहयोग लिन प्राधिकरणले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्