‘हिमालयन चितुवा’ अर्थात अविरल घिमिरे शनिबार के-वन किक बक्सिङमा भिड्दै



जापान,साउन २ । नेपाली युवा बक्सर अविरल घिमिरेले शनिबार विश्वको चर्चित ‘के-वन किक बक्सिङ अन्तर्राष्ट्रिय प्रतियोगिता २०२१’ मा प्रतिस्पर्धा गर्ने भएका छन् ।

हिमालयन चितुवा नामले बक्सिङ खेलमा चिनिएका घिमिरेले जापानी खेलाडी हिरोमी वाजिमासँग भिड्न लागेका हुन् । उनको यो तेस्रो खेलमा प्रतिस्पर्धा हो ।

अविरलले हिट गेम लगायत गरी प्रोफेसनल १३ वटा खेलेका छन् । दुई पटक जापान हिट च्याम्पियन ७० केजी भिडेका थिए । उनले १३ खेलमध्ये २ खेल हारेका थिए भने १ जितेका थिए । १० खेलमा भने नक आउट हानेका थिए । अविरल सन् २०१६ मा जापान आएर जुन महिनाबाट खेल सुरुवात गरेका थिए ।

अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी एवं प्रशिक्षक देवनारायण घिमिरेका छोरा अविरल आफ्ना बुबाले प्रशिक्षण दिएका छन् । नेपाली खेलाडी अविरल घिमिरे (हिमालयन चितुवा)लाई फुकुओकामा स्वागत गरिएको छ । शनिबारको के-वन खेलको तयारी पूरा भएको अबिरलको बाबा तथा पूर्वबक्सर घिमिरेले जानकारी गराएका छन् । क्युस्युवासी सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीवहिनीहरुलाई गेम हेरेर सपोर्ट गरी अबिरल (हिमालय चितुवा)को हौसला बढाइदिन अनुरोध गरिएको छ ।

नेपालको काठमाडौं चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारा निवासी उनीहरु पाँच वर्षदेखि जापानको नागोया सहरमा बस्दै आएका छन् । ‘के वन किक बक्सिङ प्रतियोगिता’ लाई जापानसहित अन्तर्राष्ट्रिय बक्सिङ खेल क्षेत्रले उच्च महत्वका साथ हेर्ने गर्छ । सो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै मार्शल आर्टका समेत खेलाडी देवनारायणले सन् २००४ मा भाग लिएका थिए । उनी अन्तर्राष्ट्रियस्तरका के-वन बक्सर खेलाडी तथा प्रशिक्षक हुन् ।

बक्सर अविरलले जापानी खेलाडी रादालाई पराजित गर्दै अघिल्लो वर्ष टोकियोमा नै सम्पन्न ‘होस्ट कप एस’को उपाधि चुमेका थिए । अबिरलले जापानमा प्लस टु पास गरेका छन् । उनी पूरा समय खेलमै बिताइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्