मलाई अपराध गरेर शासन चलाउनु छैन- सांसद हितबहादुर तामाङ



नुवाकोट,असार २ । नेपाल कम्युनिस्ट पार्टी माओवादीका नेता तथा प्रतिनिधिसभा सदस्य सांसद हितबहादुर तामाङले देशको समग्र राजनीतिक गतिविधिलाई मूल्यांकन गर्दै आफू र आफ्नो पार्टीलाई अपराध गरेर शासन चलाउने मनसाय नभएको बताएका छन्। शुक्रबार ककनी गाउँपालिकाको प्रशासनिक भवन शिलान्यास समारोहमा बोल्दै सांसद तामाङले पछिल्लो समयमा देशमा राजनैतिक अराजकता मौलाउदै गएकाले जनप्रतिनिधि तथा कर्मचारीहरूलाई सजगता अपनाउन आग्रह गरे।

राजनीतिक आड वा स्वार्थभावमा रहेर कतिपय स्थानीय तहका कर्मचारीले जनतालाई दुख दिने गरेको बताउदै सांसद तामाङले जनताको नाममा कसम खाएपछि कर्मचारी होस् वा राजनीतिकर्मी जनताको सेवाका निम्ति खट्नुपर्ने बताए। ‘मैले ठाउँ ठाउँमा सुनेको छु, कतिपय ठाउँमा कामै नभइकन बिल पास हुने, कतिपयको सम्पन्न भैसकेको कामको पनि बिल नउठ्ने?’ के यस्मा जनप्रतिनिधिको मात्रै हात छ? उनले थपे-‘कोहि कुनै कर्मचारीलाई त्यस्ता जनताको काममा अवरोध गराउने राजनीतिक क्रियाकलाप भएको छ भने आउनुहोस् भण्डाफोर गर्नुस्।’

बजेट पार्नु अगावै कतिपय राजनीतिकर्मीले कमिसन लिएर बजेट पार्ने कुरा सुनेको बताउदै सांसद तामाङले कोही कसैले हितबहादुरको नाममा एक पैसा मागेको फेला पारे मलाई भन्नुहोस्, चुनावको समयमा बरु दालमोठ खाएर हिडिन्छ, भोट दिदैनन भने हार स्विकार्नु तयार छु, तर आउदो चुनाव भनेर खर्च उठाउनतिर लाग्दिन।’ ‘अर्को चुनाव लड्नुपर्छ भनेर कमिसन लिने, योजना बेच्ने, र चुनावमा मजासंगले खसी,रागोको भोज खुवाएर बियर र ह्विस्की छेलोखेलो गरेर मलाई चुनाव लड्नु छैन’ उनले भने।

केहि स्थानीय तहको पछिल्लो गतिविधिप्रति असन्तुष्ट देखिएका सांसद तामाङले संघीयतालाई बदनाम हुनेगरी कोहि कसैले जनताको मर्ममा चोट लाग्ने काम नगर्न नगराउन समेत अनुरोध गरे। कुल ९ करोड ५ लाख लागत रहेको गाँउपालिकाको प्रशासनिक भवन शिलान्यास गर्दै सांसद तामाङले स्थानिय तहलाई थप विकसित गर्ने क्रममा गाउँपालिका एक कदम अगाडि बढेको बताए ।  

गाँउपालिकाको वडा नम्बर ४ स्थित रानिपौवा स्वास्थ्य कार्यालय नजिकै बन्ने प्रशासनिक भवनको शिलान्यास समारोहमा गाँउपालिका अध्यक्ष मानबहादुर लामा, उपाध्यक्ष सीता खतिवडा, ४ नम्बर वडाका अध्यक्ष दिपेश तामाङ लगायत स्थानीय जनप्रतिनिधि,राजनीतिकर्मीहरुको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्