बौडेश्वर झरनामा अत्यधिक भिड [हेर्नुस् तस्वीर]



काठमाडौ,साउन ३ । टोखा नगरपालिका वडा नम्बर १ स्थित झोरमा रहेको बौडेश्वर झरनामा आन्तरिक पर्यटकको अत्यधिक भिड लागेको छ।

शनिबार राजधानी काठमाडौ तथा आसपास क्षेत्रबाट समेत सयौं युवा जमात झोर झरनामा रुझ्न पुगेका थिए।

ललितपुरकी मिनु लावटलाई हालसम्मकै ज्यादा भिड लागेको बताइन्।’म धेरै पटक साथीहरूसंग झरना रुझ्न आएको छु तर आज शनिबार अत्यधिक भिड लाग्यो’- उनले भनिन् ।

त्यस्तो त छहरे-टोखा सडकखण्डमा आगन्तुकको सवारीसाधन ब्यवस्थापनमा समेत हम्मेहम्मे परेको स्थानीयले बताए।सिमा चौरदेखि बौडेश्वर विद्यालय हुँदै झरना पुग्ने पुरानो सडक हिलाम्मे भएकाले छहरे-टोखाको सडक प्रयोग गर्नेको ज्यादा भीड देखिएको उनीहरुले बताए । पर्यटन हिसाबले उत्साह जगाएपनि कोरोना महामारी बीच यस्ता भीडले थप संक्रमण बढाउने हो कि भन्ने चिन्ता भने बढाएको स्थानीय बताउँछन् ।

यस्तो छ बौडेश्वर झरनाको गुरुयोजना

पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित टोखा नगरपालिकाले बौडेश्वर झरनाको २०७५ सालमा गुरुयोजना तयार गरेको थियोे । पारागन कन्सल्टेन्सीसँगको सहकार्यमा सो गुरुयोजना तयार गरी यसैका आधारमा ७ वर्षभित्र योजनालाई साकार रूप दिने तयारी थालिएको थियोे ।

तत्कालीन समयमा स्थानीय तह र सरोकारवालाबीच २५ करोड रुपैयाँ लागत लाग्ने गरि उक्त गुरुयोजना सार्वजनिक गरिएको थियोे । धार्मिक र प्राकृतिक हिसाबले पनि महत्त्वपूर्ण वडा नं. १ झोरस्थित वरुणेश्वर महादेवसँगैको बौडेश्वर झरनाको प्राकृतिक स्वरूप नबिगारी पार्क, लगायतका संरचना बनाइने गुरुयोजनामा उल्लेख छ ।

चक्रपथमा पर्ने सामाखुसीबाट झन्डै १० किलोमिटर पर पर्ने झोरमा पत्थरको पहाडका बीचबाट झर्ने झरना पर्यटकीय आकर्षणको केन्द्र हो भने गुफाभित्र वरुणेश्वर महादेवको मन्दिर छ । त्यहाँको मुख्य झरना क्षेत्रमा रहेको पत्थरमा शिवको मूर्ति कुँद्ने योजना समेत रहेको छ । असोजपछि झरनामा पानी विस्तारै कम हुने भएकाले केही माथि बाँध तयार गरी त्यहाँ पानी जम्मा गर्ने र त्यसैलाई सुक्खा मौसममा झार्ने तयारी समेत गरिएको टोखा नगरका मेयर प्रकाश अधिकारी बताउँछन्  ।

झरनाको पश्चिमी भागमा पिकनिक स्पट रहनेछ । पार्क, चौर र रक क्लाइम्बिङको पनि सम्भावना राम्रो रहेकाले संभाव्यता अध्ययन समेत टोखा नगरपालिका वडा नम्बर १ ले सम्पन्न गरिसकेको छ । भूबनोट जोगाउने गरी संरचना बनाइ त्यस क्षेत्रमा ठूला पत्थर भएकाले रक गार्डेन बनाए त्यो आकर्षणको केन्द्र बन्न सक्ने सरोकारवालाहरु बताउँछन् ।

त्यसैगरी पूर्वतर्फ पनि पार्क बनाइनेछ । बालबालिकाका लागि खेल्ने क्षेत्र, चौर, पिङ तथा अन्य संरचना, बस्ने, खेल्ने ठाउँ पनि बनाइनेछन् । जुन हालै सम्पन्न भैसकेको छ। त्यसैगरी पदमार्गका लागि झन्डै साढे १३ किमि पदमार्ग निर्माण गरिनेछ ।

चण्डेश्वरीदेखि टोखाको झरना हुँदै तारकेश्वर नगरपालिका पुग्ने यो पदमार्ग माथिको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको फेद हुँदै जानेछ। यहाँ तामाङ समुदायको बसोबास रहेको क्षेत्र नजिकबाट अध्ययन गर्न सकिन्छ भने मनोरम वातावरणको आनन्द लिन सकिन्छ ।

अर्थ अभावका कारण तत्कालका लागि सो क्षेत्रमा बालबालिकाको पार्क मात्र निर्माण सम्पन्न भएको टोखा नगरपालिका वडा नम्बर १ का अध्यक्ष श्रीकृष्ण अधिकारीले बताए। आगामी बजेटलाई यस गुरुयोजना सम्पन्न गर्न महत्त्वपूर्ण पहलकदमी अगाडि बढाइएको अध्यक्ष अधिकारीले साझापथलाई बताए । उनले भने- ‘झोरको पर्यटन बिकासका लागि तत्काल जलेश्वर मन्दिर नजिकै ३५ फिटे बुद्ध मुर्ति स्थापना गर्न लागेका छौं,गुरुयोजनाका सबै काम सम्पन्न गरी सुन्दर झोर निर्माणको अभियानमा छौं।’

प्रतिक्रिया दिनुहोस्