नुवाकोट शिवपुरी गाउँपालिकाका एक विद्यालयलाई शैक्षिक सामग्री सहयोग



नुवाकोट,साउन ४ । जिल्लाको शिवपुरी गाउँपालिकाका एक विद्यालयलाई होम लोन एक्सपर्ट नामक गैरसरकारी संस्थाले शैक्षिक सामग्री सहयोग गरेको छ।

गाउँपालिकाको वडा नम्बर ५ स्थित माझगाउँमा रहेको बच्छला आधारभूत विद्यालयलाई सो संस्थाले शैक्षिक सामग्री सहयोग गरेको हो। कक्षा १ देखि ७ सम्म पठनपाठन हुने सो विद्यालयका विद्यार्थीलाई विभिन्न शैक्षिक सामग्री वितरण गरिएको संस्थाका नुवाकोट कोओडिनेटर रघुबीर तामाङले बताए।

संस्थाका तामाङका अनुसार सहयोग गरिएको शैक्षिक सामग्रीमा अभ्यास पुस्तिका ४ सय १६ थान, कलम १४० दर्जन, सिसाकलम १२० वटा रहेको छ। विद्यार्थीलाई पोशाक,झोला जस्ता सामाग्री समेत ब्यवस्थापन गर्दै आइरहेको उक्त संस्थाले विद्यार्थीलाई शैक्षिक गुणस्तर बिकासका लागि शिक्षक ब्यवस्थापन समेत गर्दै आइरहेको छ।

त्यस्तै सोही अवसरमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र शिवपुरीका अध्यक्ष बिरबहादुर तामाङले कोरोना महामारीका समयमा विद्यार्थी स्वास्थ्य सुरक्षाका लागि ४५० थान मास्क र १०० प्रति हात धुने साबुन प्रदान गरेका थिए।

सामग्री हस्तान्तरण कार्यक्रम विद्यालयका प्रधानाध्यापक सन्तबहादुर श्रेष्ठको उपस्थितिमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्