नुवाकोट शिवपुरीमा बाँदरको आतंक उस्तै, बन्दुकको आवाजसंग अभ्यस्त बन्यो बाँदर



नुवाकोट,साउन ४ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ४ सिक्रेमा बाँदरले किसानको मकै बाली खाएर सखाप पारेको छ । दुई सातादेखि झण्डै सय डेढ सयको हुलमा आएको बाँदरले सयौं रोपनी क्षेत्रफलमा लगाएको मकै बाली खाएर सखाप पारेको स्थानीयबासीहरु बताउँछन् ।

मकै भण्डार समय अगावै बाँदरले खेतबारीका लगाएको मकै लगायत अन्न, सागपात सखाप बनाएको स्थानीय शिक्षासेवी राम थापाले बताए । खेतीपातीको मध्य समयमा ठूलो समूहमा गाउँ प्रवेश गरेको बाँदर धपाउन स्थानीय बासिन्दालाई हम्मे हम्मे पर्ने गरेको छ । हिउँद, वर्षा नभनी लगाएको बाली फल्ने बेलामा सखाप पारेपछि स्थानीय किसान चिन्तित बनेका छन् ।

यसअघि खाद्यबालीमा बाँदरले क्षति गरेपछि स्थानीयवासीले गाउँपालिकाको कार्यालय सेराबगरमा गई जनप्रतिनिधि सामु गुनासो समेत गरेका थिए । शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले बाँदरले खाद्यबाली नष्ट गरेको भन्दै बाँदर धपाउने यन्त्र अनुदानमा खरिद गरि परिक्षणका लागि किसानलाई वितरण समेत गरेका थिए ।

सुरु सुरुमा बाँदर धपाउने यन्त्र उपयोगी सावित भएपनि अन्ततः उक्त यन्त्रध्वनिप्रति बाँदर अभ्यस्त बन्दै गएकाले समस्या समाधान नभएको किसानहरु बताउँछन् । लिखुका किसान डम्बर तामाङले भने -‘बाँदर धपाउने बन्दुक सुरु सुरुमा एकपटक पडकाउदा एक हप्ता हाईसन्चो हुन्थ्यो, तर आजभोलि बाँदर त्यो आवाजले भाग्नु त के डेग समेत चल्दैन।’ राष्ट्रिय निकुञ्ज मातहत मध्यवर्ती क्षेत्रका जग्गा भएपनि राहत पाइन्थ्यो तर हामी त सारै पीडित भैयो- उनले थपे।

गाउँपालिकाको साविक सिक्रे, लिखु, तलाखु, समुन्द्रादेवी, छाप लगायत क्षेत्रमा बाँदरसहित अन्य बन्यजन्तुले किसानलाई हैरानी दिलाएको पाइन्छ। तर मध्यवर्ती क्षेत्र भित्र नपर्ने भएकालेे निकुञ्जको बन्यजन्तुले पुर्याएको क्षतिपूर्ति राहत रकमबाट किसान बन्चित हुनुपरेको छ। त्यसो त गाउँपालिकाको सुनखानी,थानापती, लिखुको थान्सिङ, पञ्चकन्याको भद्रुटार क्षेत्रमा समेत बाँदरको आतंक कायमै छ। तर मध्यवर्ती क्षेत्र बाहेकका क्षेत्रमा बन्यजन्तुले पुर्याएको नोक्सानको लेखाजोखा राष्ट्रिय निकुञ्जले नराख्ने शिवपुरी राष्ट्रिय निकुञ्जका सुपरभाइजर आशिष लामाले बताए।

यता किसानहरु भने राष्ट्रिय निकुञ्जसंग स्थानीय निकायले समन्वयकारी भूमिका निर्वाह गरी सहयोग र राहतका प्याकेज सिर्जना गर्नुपर्ने बताउदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्