नुवाकोट शिवपुरीका १६ वटा विद्यालयलाई धारा जडित स्टाण्डयुक्त पानी ट्यांकी



नुवाकोट,साउन ५ । जिल्लाको शिवपुरी गाउँपालिकाका १६ वटा विद्यालयलाई धारा जडित स्टाण्डयुक्त पानी ट्यांकी वितरण गरिएको छ। सो सामग्री रोटरी क्लब अफ काठमाडौंकाे सहयाेगमा इकाे कनेक्ट प्रालिले वितरण गरेको हो।

सोमबार गाउँपालिकाको कार्यालय सेराबगरमा रोटरी क्लब अफ काठमाडौका सचिव सुशीलकुमार कार्कीले सो सामग्री वितरण गरेका हुन। सेवा क्षेत्रमा रहेका वडा नम्बर १ देखि ८ सम्मका कुल ४८ विद्यालयमध्ये प्राथमिकता र आवश्यकताको आधारमा १६ वटा विद्यालयलाई हात धुने स्टेसन सामग्री वितरण गरिएको क्लबका सचिव कार्कीले बताए । उक्त अवसरमा क्लबले एउटा अक्सिजन कन्सन्ट्रेटर उपकरण समेत शिवपुरी गाउँपालिकालाई हस्तान्तरण गरिएको गाउँपालिकास्थित स्वास्थ्य शाखाका प्रमुख उद्धब कार्कीले बताए ।

रोटरी क्लबद्वारा प्रदान गरिएको धारा जडित स्टाण्डयुक्त पानी ट्यांकी

विद्यालयलाई धारा जडित स्टाण्डयुक्त पानी ट्यांकी पाउने विद्यालयहरुमा वडा नम्बर ४ सिक्रेका शिवपुरी एकता आधारभूत विद्यालय, वडा नम्बर ५ को बच्छला आधारभूत विद्यालय, शिवपुरी गाउँपालिका वडा नम्बर १ तलाखुका हिल्चे आधारभूत विद्यालय, बिष्णुदेवी आधारभूत विद्यालय र खोलेखर्क आधारभूत विद्यालय रहेका छन्।

त्यस्तै शिवपुरी गाउँपालिका वडा नम्बर २ छापको बोर्लाङ्भूमे आधारभूत विद्यालय, चापाबोटे आधारभूत विद्यालय र वडा नम्बर ६ का समुन्द्रादेवी माध्यमिक विद्यालय र जनसहयोग आधारभूत विद्यालय, शिवपुरी ७ सुनखानीको घ्याम्पेश्वरी आधारभूत विद्यालयलाई समेत सो सामग्री वितरण गरिएको छ। त्यस्तै शिवपुरी ५ वडाको जालपा आधारभूत विद्यालय र नेपाने आधारभूत विद्यालय, वडा नम्बर ८ को अमर आधारभूत विद्यालय र महेन्द्र आधारभूत विद्यालय, वडा नम्बर ३ को रामायण छाप माध्यमिक विद्यालय र वडा नम्बर ८ को जनज्ञान निकेतन माध्यमिक विद्यालय लगायतका १६ वटा विद्यालयलाई धारा जडित स्टाण्डयुक्त पानी ट्यांकी प्रदान गरिएको शिवपुरी गाउँपालिका शिक्षा शाखाका राम थापाले बताए।

प्रतिक्रिया दिनुहोस्