भारतमा थप ४२ हजार १५ नयाँ सङ्क्रमित थपिए



एजेन्सी, साउन ६ । भारतमा कोरोनाभाइरसका नयाँ संक्रमित ४२ हजार १५ जना थपिएका छन् । भारतस्थित सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार हालसम्म भारतामा कुल सङ्क्रमितको सङ्ख्या तीन करोड १२ लाख १६ हजार भन्दा बढी पुगेको छ ।

भारतमा पछिल्लो समयमा सक्रिय संक्रमितको सङ्ख्या चार लाख ७ हजार १७० रहेको अधिकारीले जनाएका छन् । पछिल्लो एक दिनमा कोरोनाभाइरसका कारण थप ४८९ जनाको मृत्यु भएको छ । तर महाराष्ट्र राज्यले कोरोना सङ्क्रमणका कारण पहिले नै ज्यान गुमाएका तर तथ्याङ्कमा छुटेका व्यक्तिको नाम दिएको हुनाले गत २४ घण्टामा कोरोना सङ्क्रमितको कारण मृत्यु भएकाको संख्या तीन हजार ९९८ भएको मन्त्रालयले बुधबार जानकारी दिएको छ ।

भारतमा कोरोनाबाट मृत्यु हुनेको कुल सङ्ख्या अहिलेसम्म चार लाख १८ हजार ४८० पुगेको बताइएको छ । गत २४ घण्टामा ३६ हजार ९७७ कोरोना मुक्त भएपछि भारतमा तीन करोड ३ लाख ९० हजार ७१० व्यक्ति कोरोना मुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्