कांग्रेस नेता सिंहले दिए सांसद पदबाट राजीनामा



काठमाडौ,साउन ६ । नेपाली कांग्रेसका नेता एवं सांसद अमरेश कुमार सिंहले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका छन्। नेता सिंहले बुधबार कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई महाधिवेशनका लागि पार्टीको क्रियाशिल सदस्यता वितरणमा असन्तुष्टि जनाउँदै राजीनामा बुझाएका हुन्।

सिंहले राजीनामा पत्रमा भनेका छन्, ‘महाधिवेशनको पूर्वसन्ध्यामा पार्टी क्रियाशील सदस्यता वितरण, समायोजन र नवीकरणका क्रममा पार्टीभित्र उत्पन्न अवाञ्छित, अस्वाभाविक र भद्दा प्रवृतिले नेपाली कांग्रेस चुस्त र गतिशील बन्ने मार्गमा अवरोध पैदा गरेको छ।’ राजिनामा पत्रमा उनले उपसभापति विमलेन्द्र निधिको भूमिकाप्रति पनि असन्तुष्टि जनाएका छन्।

विशेषगरेर प्रदेश नम्बर २ मा उपसभापति विमलेन्द्र निधिले अवलम्बन गरेको नीति र व्यवहारले चिन्ताजनक स्थिति उत्पन्न गराएको उनको भनाई छ।

उनले सभापति देउवाको ध्यानाकर्षण गराउँदै लेखेका छन, ‘निष्ठावान, गतिशील र पार्टीप्रति समर्पित पुराना तथा युवा साथीहरुलाई समेट्न नखोज्ने, विपरीत छविका र पार्टीसँग अपरिचित व्यक्तिहरुलाई मनोमानी तरिकाले क्रियाशील सदस्यता वितरण गरी समायोजन र नवीकरणका नाममा निजी जत्था तयार गर्ने कपटी प्रयास भइरहेको छ ।’ आफ्नै पार्टीका कार्यकर्तालाई न्याय दिन नसक्ने हो भने सांसद पदमा बसेर जनताको सेवा गर्न नसक्ने भएकाले प्रनिधिसभा सदस्य पदबाट राजीनामा दिएको सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद सिंहले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्