अभिभावककै पहलबाट मात्र बालबालिकालाई मोबाइलको लत छुटाउन सम्भव



काठमाडौं, साउन ७ । बालबालिकालाई मोबाइल प्रयोगको लतबाट छुटाउन अभिभावकले नै पहल गर्नुपर्ने सुझाव विज्ञहरूको छ ।

कोभिड–१९ को महामारीका कारण अहिले डिजिटल प्रविधिको सिकाइ, सामाजिकीकरण र मानसिक स्वास्थ्य व्यवस्थापन गर्न गाह्रो भएको अवस्थामा अभिभावकले आफ्ना बालबालिकालाई सावधानीपूर्वक मोबाइलको प्रयोग गर्न प्रेरित गर्नुपर्ने बाल मनोरोग विशेषज्ञ डा। गुञ्जन घोजूले जानकारी दिए ।

उनले भने, “इन्टरनेटमा अत्यधिक समय खर्चिनु भनेको पनि एक प्रकारको मानसिक रोग नै हो । धेरै इन्टरनेट वा फोन, ल्यापटपजस्ता उपकरण (ग्याजेट) मात्र चलायो र पठनपाठनतर्फ खासै ध्यान दिन सकेको छैन भने बालबालिकालाई मानसिक समस्या भएको भन्ने बुझ्नुपर्छ ।”

बालबालिकाले कुन अवस्थामा इन्टरनेट चलाइरहेको छ भन्ने बुझ्न जरुरी रहेको डा। घोजूको भनाइ छ । कुनै मानसिक तनावले पनि यस्ता प्रविधि बढी समयसम्म चलाउने गरिन्छ । उनले थपे, “बालबालिकालाई के भइरहेको छ भन्ने कुरा अभिभावकले मायाले सोध्नुपर्छ ।”

अभिभावकको भनाइ बालबालिकाका लागि प्रेरणाको स्रोत हुन्छ । बालबालिकालाई आफूसँगै सिर्जनात्मक काम गर्न प्रेरित गर्न सकियो भने इन्टरनेट चलाउनमा ध्यान कम जाने उनको सुझाव छ ।

यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्