पार्टी भित्रको आक्रोश नेतृत्वले सुझावको रुपमा लिनुपर्छ- रमेशकुमार महत, नेपाली काङ्ग्रेस



नुवाकोट,साउन ७ । नेपाली काङ्ग्रेसका महासमिति सदस्य रमेशकुमार महतले पार्टी भित्रको आक्रोश नेतृत्व पंक्तिले सुझावको रुपमा लिनुपर्ने बताएका छन्। बुधबार नुवाकोटको लिखु गाउँपालिकामा ३९ औं बिपि स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा आफ्नो मन्तव्य राख्दै नेता महतले पटकपटक हुनुपर्ने बैठक समयमै नहुँदा पार्टीका इमानदार नेता कार्याकर्तामा आक्रोश उत्पन्न हुनु स्वाभाविक रहेको बताए।

देश संघीय प्रणालीमा गएपछि संविधान संघीय अनुरुप बनेको तर पार्टी बिधान बनाउन समय लागेको र झण्डै एक वर्ष यतादेखि मात्रै पार्टी संघीय प्रणालीमा गएकाले संगठनात्मक क्रियाकलापमा ढिलाइ हुन पुगेको उनले बताए । स्थानीय तहमा समेत अधिवेशन नगरी समायोजन गर्दा स्वत संयोजक खडा भएकाले पार्टी र बैठक ठिकसंग चल्न नसक्नु पार्टीको कमजोरी भएको बताए। ‘पार्टीको क्षेत्रीय समिति, गाउँकार्य समितिका सभापतिहरु, वडा समिति सभापतिहरु र विशेषत निर्वाचित भएका साथीहरू रिसाउछ्न,आक्रोशित नहुने कुरा भएन। पार्टी हो सबैको आआफ्नो इच्छा र आकांक्षा हुन्छ, सबै पूरा गर्न सकिदैन पार्टी हितका निम्ति यस्ता कुरालाई सामान्य रुपमा लिनुपर्छ’- उनले भने।

मन्तव्यकै क्रममा नेता महतले क्रियाशील सदस्यताको सवालमा नुवाकोट विवादित बनेको बताए। तेह्रौं महाधिवेशनमा आफू सचिव रहेको बताउदै महतले ३२ सय क्रियाशील सदस्यमा थप ३२ सय माग भएको तर गाउँगाउँमा नभई सिधै भर्ने काम भएपछि विवाद सुरु भएको प्रस्ट्याए। ‘यस्तो जालझेल कस्ले गर्यो के गर्यो? तपाईंहरु आफै बुझ्नुहुन्छ’ नेता महतले भने- यसपटक पनि नयाँ सदस्य नदिने, तेह्रौंकै सदस्यलाई मान्यता दिनेबारे मलाई फोन आएको थियो ।’ आफुले क्रियाशिल सदस्यताबारेमा स्पष्ट धारणा राख्दै आएको बताउदै उनले जस्ले केन्द्रमा उजुरबाजुर गर्ने उसैले गाउँ गाउँमा अर्कैले रोक्यो भन्ने? यस्ता प्रवृत्ति बेलैमा रोक्न सकेको खण्डमा मात्र पार्टीको हित हुने बताए।

लिखु गाउँपालिकाले ३९ औ विपी स्मृति दिवसका अवसरमा गरेको बृक्षारोपण कार्यक्रममा काङ्ग्रेसका जिल्ला कोषाध्यक्ष महेन्द्र थिंग, महासमिति सदस्य रमेशकुमार महत, जिल्ला समन्वय संयोजक सन्तमान तामाङ, शिवपुरी गाउँपालिकाका अध्यक्ष तथा महासमिति सदस्य रामकृष्ण थापा, प्रदेश सभासदस्य कल्पना नेपाली, प्रदेस क्षेत्रिय सभापति प्रेम पाठक , अर्जुन न्यौपाने, लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठ,अध्यक्ष,उपाध्यक्ष ,वडा अध्यक्षहरु, महाधिवेशन प्रतिनिधिहरु , नेपाली काङ्ग्रेस गाउँपालिका कार्यसमितिका सभापतिहरु लगायतको उपस्थिति रहेको थियोे।

बृक्षारोपण कार्यक्रम लिखु गाउँपालिका वडा नम्बर ३ र ४ क्षेत्रपाल उच्च मावि र नवप्रकाश प्रावि लगायत स्थानमा गरिएको थियोे।

प्रतिक्रिया दिनुहोस्