सवारी कारबाहीबाट गुल्मीमा ५१ लाख बढि राजस्व



गुल्मी,साउन ७। गुल्मी जिल्लामा गत आर्थिक वर्ष ०७७/७८ मा सवारी कारवाहीमा ५१ लाख बढि राजस्व सकलन भएको छ । यो अवधिमा ट्राफिक नियमको उल्लंघन गर्ने ७ हजार ९३९ सवारी साधनलाई कारबाही गरिएको छ ।

सवारी साधन कारबाहीबाट ५१ लाख २३ हजार राजस्व सकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी नायव निरिक्षक कृष्णप्रसाद आचार्यले बताए । प्रहरीले ट्राफिक नियम उल्लंघन गर्ने जीपकार २ हजार ८२४ वटा, मोटरसाइकल २ हजार ६५१ वटा, ट्याक्टर ५०५ वटा, बस २६५ वटा र ट्रक ६७० वटालाई कारवाही गरिएको प्रहरीले जनाएको छ ।

यस अवधिमा जिल्लामा ३७ वटा सवारी दुर्घटनामा २२ जनाले ज्यान गुमाएका थिए । ट्राफिक प्रहरी कार्यालय गुल्मीले यस आर्थिक वर्षमा सवारी साधन कारवाही र राजस्व संकलनमा बृद्धि गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका हवल्दार नवीन भण्डारीले बताए ।

अघिल्लो आर्थिक वर्ष भन्दा यस आर्थिक वर्षमा २० लाख बढि राजस्व संकलन भएको भण्डारीको भनाई छ । अघिल्लो आर्थिक वर्ष ०७६/०७७ मा ३१ लाख ८९ हजार राजस्व संकलन भएको थियो । सो आर्थिक वर्षमा ५ हजार ८७ वटा सवारी साधन माथी कारवाही गरिएको थियो ।

ट्राफिक प्रहरीले मालवाहक सवारी साधनले क्षमताभन्दा बढी समान बोक्ने, जिप कारले क्षमताभन्दा बढी यात्रु राख्ने, लाइसेन्स नबोक्ने र जथाभावी पार्किङ गर्ने सवारी धनिहरुलाई कारबाही गरीएको आचार्यले बताए। जिल्ला ट्राफिक कार्यालयले सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक व्यवस्थापनको लागी ट्राफिक जनचेतनामुलक कार्यक्रमहरु पनि सञ्चालन गर्दे आईरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरिक्षक जगन्नाथ पाण्डेले बताए ।

कार्यालयले यो अबधिमा बिभिन्न बिद्यालयका बिद्यार्थीहरु, व्यवसायीक ,चालक, परिचालक, पैदल यात्रु तथा अन्य सर्बसाधारणलाई सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक व्यवस्थापनको लागी ट्राफिक जनचेतनामुलक प्रशिक्षण कार्यक्रम गरिएको पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्