पत्रकारको प्रश्नमा झोक्किए देउवा, भने-‘त्यहाँ बोलिसकेँ मैले ! ए भाइ, त्यहाँ बोलेको सुन्नुभएन तपाईंले ?’
काठमाडौं,कात्तिक २१ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पत्रकारको प्रश्नमा आक्रोशित बनेका छन्। शनिबार काठमाडौंमा आयोजित १५औँ अधिवेशनबाट बाहिरिने क्रममा पत्रकारले कांग्रेसको सभापति आफू हुन् कि गगन थापा भन्ने प्रश्न गरेपछि देउवा झोक्किएका हुन्।
राष्ट्रिय सभागृहमा आफ्नो पक्षले आयोजना गरेको समानान्तर अधिवेशनलाई सम्बोधन गरेर बाहिरिने क्रममा सञ्चारकर्मीले पार्टीको आधिकारिक नेतृत्व र पछिल्लो राजनीतिक विवादबारे प्रश्न गरेका थिए।
‘कांग्रेसको सभापति तपाईं हो कि गगन थापा हो खासमा ?’ भन्ने पत्रकारको प्रश्नमा देउवाले आक्रोशित हुँदै औँलो ठड्याएर भने, ‘त्यहाँ बोलिसकेँ मैले ! त्यहाँ बोलिसकेँ त ! ए भाइ, त्यहाँ बोलेको सुन्नुभएन तपाईंले ?’
पत्रकारले आफूहरूले सम्बोधन सुनेको तर स्पष्ट कुरा जान्न चाहेको बताएपछि देउवाले थप कड्किँदै ‘त्यही हो ! मैले बोलिसकेको छु’ भन्दै जवाफ दिएका थिए।
यसैगरी, सञ्चारकर्मीले सामाजिक सञ्जालमा चर्चामा रहेको १८ करोड रुपैयाँ प्रकरण र सरकारले कारबाही गर्नुपर्ने विषयमा प्रश्न गर्दा पनि देउवाले स्पष्ट जवाफ दिएनन्। उनले ‘नेपाल सरकारलाई सोध्नुस् न’ भन्दै प्रश्न पन्छाएका थिए।
देउवाले अधिवेशनको मञ्चबाटै पार्टीभित्र १८ करोड रुपैयाँको आर्थिक चलखेल भएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए। तर, कार्यक्रमस्थलबाट बाहिरिने क्रममा नेतृत्व र विवादबारे पत्रकारले निरन्तर प्रश्न गरेपछि उनी आक्रोशित हुँदै गाडी चढेर बाहिरिएका हुन्।

