कर्णालीको विकासका लागि सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्याइएको हो : प्रचण्ड
काठमाडौँ,कात्तिक २१ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीलगायत पिछडिएका क्षेत्रको विकासका लागि सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्याइएको बताउनुभएको छ ।
लेखक डा. दीपेन्द्र रोकाय र मोहनदास मानन्धरद्वारा लिखित ‘कर्णाली उपेक्षा र उज्यालो’ पुस्तकको आज विमोचन गर्दै उहाँले विभेदमा पारिएका वर्ग र क्षेत्रलाई समृद्धिको नयाँ यात्रामा अघि बढाउन आफू प्रधानमन्त्री हुँदा कर्णालीमा पूर्वाधार विकासको सुरुआत गरेको बताउनुभयो ।
पूर्व–पश्चिम मध्यपहाडी राजमार्ग तथा उत्तर–दक्षिण करिडोर निर्माणले नेपाललाई थप एकताबद्ध बनाएको उल्लेख गर्दै उहाँले कर्णालीका स्याउ अन्य जिल्लामा पुर्याउन र तराईका अन्नबाली कर्णालीसम्म ल्याउन सहज भएको बताउनुभयो ।
“रणनीतिक सोचको नेतृत्व नभएको भए यो विकास हुन सक्दैनथ्यो”, उहाँले भन्नुभयो ।
पूर्वप्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वको पहिलो गणतान्त्रिक सरकारले कर्णालीको समृद्धिका लागि १० हजार ८०० मेगावाट क्षमताको कर्णाली–चिसापानी आयोजना तथा तिला–१ र तिला–२ आयोजना अघि बढाउन पहल गरेको जानकारी दिनुभयो ।
त्यस्तै, हिल्सा–सुर्खेत सडक निर्माणलाई चीनको सहयोगमा अघि बढाउने विषयमा सैद्धान्तिक समझदारी भएको उहाँले स्मरण गर्नुभयो ।

