ठूलो परिणाममा चरेश र ब्राउन सुगरसहित दाङबाट पाँच जना पक्राउ



दाङ,साउन ७ । दाङमा प्रहरीले अवैध लागू औषध करिब १० किलो चरेस र ९ ग्राम ब्राउन सुगर सहित ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाग्लुङ निसिखोला गाउँपालिका १ बस्ने २१ वर्षीय सुदीप सिँजाली मगर र बाग्लुङ बरिगाड गाउँपालिका २ बस्ने ३० वर्षीय रेम बहादुर भुजेल, दाङको तुलसीपुर उपमहानगरपालिका १ पैया खोरे बस्ने १८ वर्षीय प्रेम प्रकाश बिक, वडा नं. ५ का १४ वर्षीय किरण बिक र वडा ६ भिआइपी टोल बस्ने ४५ वर्षीया चामु कुमारी विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

दाङको गढवा गाउँपालिका १ धानखोला स्थित एक होटेलबाट बुधवार दिउँसो ३ बजेतिर ९ किलो ९३० ग्राम चरेस सहित मगर र भुजेललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए । उनीहरूलाई प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

धानखोलामा रहेको हुम्ला रलिङग होटेलमा लागू औषध चरेस कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा गएको प्रहरीको टोलीले मगर बसेको होटेलको माथिल्लो तलाको कोठामा खानतलासी गर्दा ९ किलो ९३० ग्राम लागू औषध चरेस फेला पारेको डीएसपी रिजालले जानकारी दिए । पक्राउ परेकाहरू माथि लागू औषध मुद्दामा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

त्यस्तै प्रहरीले बुधवार साँझ ९ ग्राम लागू औषध ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरेको जनाएको छ । तुलसीपुर १३ दमारगाँउ मा प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा नेपालगन्ज देखि तुलसीपुर आँउदै गरेका प्रेम प्रकाशले चलाएको रा ५ प ८५१५ नम्बरको मोटरसाइकल चेक गर्ने क्रममा पछाडि सवार किरणले लगाएको मास्क भित्र लुकाई राखेको २ ग्राम ब्राउन सुगर फेला परेपछि उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै दमारगाँउ मा नेपालगञ्जबाट तुलसीपुर दाङ आँउदै गरेको ना ४ ख ७२९४ नम्बरको बसमा सवार विश्वकर्मालाई पनि चेकजाँच गर्दा उनले बोकेको ब्याग भित्र लुकाई राखेको अवस्थामा ७ ग्राम ब्राउन फेला परेको प्रवक्ता रिजालले जानकारी दिनुभयो । विश्वकर्मालाई पनि पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्