आर्थिक गतिविधिमा अवरोध हुँदा भारतमा स्मार्टफोनको विक्री घट्यो



एजेन्सी,साउन ८ । भारतमा स्मार्टफोनको विक्रीमा कमी आएको छ । 

यस वर्षको अप्रिल–जुन त्रैमासमा स्मार्टफोन निर्माताहरूले भारतीय बजारमा करीब ३ करोड २४ लाख थान स्मार्टफोन ढुवानी गरेको बजार अनुसन्धाता संस्था क्यानलिसको तथ्यांकले देखाएको छ । यो अघिल्लो तीन त्रैमासको तुलनामा १३ प्रतिशत कम हो । 

फेब्रुअरी र मेको बीचमा भारत कोरोना भाइरसको संक्रमणको दोस्रो लहर नियन्त्रण गर्न क्षेत्रीय लकडाउन गरिएको थियो भने आर्थिक गतिविधिमा पनि अवरोध सृजना भएको थियो । यसका कारण स्मार्टफोनको माग चौपट भएको हो । 

गत वर्षको सोही अवधिको तुलनामा भने समीक्षा अवधिमा स्मार्टफोनको विक्री ८७ प्रतिशतले बढेको छ । गत वर्षको अप्रिल–जुन अवधिमा महामारीका कारण देशभर नै कठोर लकडाउन गरिएको थियो ।  

स्मार्टफोन बजारको सबैभन्दा धेरै २९ प्रतिशत हिस्सा चिनियाँ स्मार्टफोन निर्माता साओमीको पोल्टामा छ । समीक्षा अवधिमा साओमीले ९५ लाख थान स्मार्टफोन बेचेको छ । 

भारतीय बजारमा १७ प्रतिशत हिस्सासहित सामसङ दोस्रो स्थानमा रहेको छ । जुन त्रैमासमा सामसङले ५५ लाख थान स्मार्टफोन बेचेको छ । ५४ लाख थान स्मार्टफोन बेचेर भिभो तेस्रो स्थानमा छ । रियलमी र ओप्पो पनि शीर्ष पाँच भित्र छन् ।

 सो अवधिमा भारतीय बजारमा कूल १ करोड ४० लाख थान स्मार्टफोन बेचेर चिनियाँ स्मार्टफोन निर्माताहरूले बजारमा आफ्नो प्रभूत्व यथावत् राखेका छन् । 

प्रतिक्रिया दिनुहोस्