संक्रमणदर स्थिर, फेरि निषेधाज्ञा होला त ?



काठमाडौ,साउन ९ । देशभर कोरोना संक्रमणदर स्थिर हुँदा पुनः संक्रमणदर घटाउन बन्दाबन्दी हुन सक्ने आँकलन थालिएको छ । अहिले नेपालमा संक्रमणदर १९.३ प्रतिशत रहेको छ । संक्रमितको संख्या घटेको देखिए पनि संक्रमणदर उल्लेखनीय रुपमा ओरालो लाग्न सकेको छैन । संक्रमणदर उल्लेखनीय रुपमा नघट्दा पुनःबन्दाबन्दी हुन सक्ने अनुमान गरिरहँदा जनस्वास्थ्यविद् र चिकित्सकहरुले भने बन्दाबन्दी नै कोरोना नियन्त्रणको प्रमुख उपाय नभएको तर्क गर्न थालेका छन् ।

जनस्वास्थ्यका मापदण्ड पालना गरेको अवस्थामा बन्दाबन्दी नै गर्न नपर्ने उनीहरुको तर्क छ ।काठमाडौं उपत्यकाभित्र संक्रमण रोकथामका लागि बन्द गरिएका सार्वजनिक सवारी साधन सञ्चालनमा आउन थालेपछि सक्रमितको संख्या बढ्न थालेको छ । काठमाडौं उपत्यकामा गत २२ असारदेखि सार्वजनिक सवारी साधन सञ्चालनमा ल्याइएको थियो ।

त्यस दिन अर्थात् २२ असारमा सक्रिय संक्रमतिको संख्या २५ हजार ८ सय २८ रहेको थियो । यो संख्या बढेर शुक्रबार २७ हजार ६ सय ६१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणको तेस्रो लहर आउन सक्ने चेतावनी दिइसकेको छ । जबकि स्वास्थ्य मन्त्रालय गत २२ असारमा काठमाडौं उपत्यका प्रमुख जिल्ला अधिकारीबीचको बैठकमा निषेधाज्ञा खुकुलो गराउने निर्णय हुँदा सरोकारवाला निकायले असन्तुष्टि व्यक्त गरेका थिए ।

यता पछिल्लो पटक शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले लामो दूरीका सार्वजनिक यातायातका सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । लामो दूरीका सवारी साधन सञ्चालन गर्दा उपत्यकाबाहिरका व्यक्ति सहज रुपमा उपत्यका भित्रन सक्ने हुँदा संक्रमण दर बढ्ने अनुमान गरिएको छ ।

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्