प्रदेश बेस बनाई बुद्ध एयरको उडान : गण्डकी–लुम्बिनीका दुई शहरमा शुरू हुँदै



काठमाडौं,साउन १० । निजीक्षेत्रको वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले प्रदेशलाई बेस बनाएर आगामी आइतवारदेखि पोखरा–नेपालगञ्जमा सीधा उडान गर्ने भएको छ । कम्पनीले साउन १७ गते आइतवारदेखि सातामा ३ दिन गण्डकी प्रदेशको पोखरा र लुम्बिनी प्रदेशको नेपालगञ्जमा सीधा उडान गर्ने कार्यतालीका सार्वजनिक गरेको हो ।

काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई बेस बनाएर उडान गर्दै आएको कम्पनीले केही समयअघि प्रदेशस्तरमा उडान गर्ने योजना अघि सारेअनुसार गण्डकीको पोखराबाट लुम्बिनीको नेपालगञ्जमा सीधा उडान गरिने जानकारी दिएको छ । शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै बुद्ध एयरले साताको ३ दिन आइतवार, बुधवार र शुक्रवार यो रूटमा उडान गर्ने घोषणा गरेको छ ।

उक्त सेवा विस्तारले दुवै शहरका जनता लाभान्वित हुने भन्दै कम्पनीले केही समयपछि यात्रुको मागअनुसार दैनिक उडान गर्ने योजना रहेको उल्लेख गरेको छ । यसैगरी सो उडानबाट दुवै शहरका पर्यटकीय गन्तव्यमा चहलपहल पनि अपेक्षा गरिएको कम्पनीका बजार निर्देशक रूपेश जोशीले बताए । नेपालगञ्जबाट केही घण्टाको दूरीमा रहेको बर्दिया राष्ट्रिय निकुञ्ज र कर्णालीको चिसापानी जस्ता पर्यटकीय स्थलमा पर्यटकको आगमन बढ्ने विश्वास गरिएको उनको भनाइ छ ।

पोखराको पर्यटकीय क्षेत्रका साथै हिमाल हेर्न नेपालगञ्जबाट आन्तरिक तथा भारतीय पर्यटक समेत आउन सक्ने कम्पनीले बताएको छ । नेपालगञ्ज नजिक रहेका भारतीय शहरहरू लखनउ, कानपुर आदि गन्तव्यका पर्यटक आकर्षित हुने कम्पनीको अनुमान छ । यसैगरी कम्पनीको भगिनी संस्था बुद्ध होलिडेजले यी दुवै गन्तव्यका लागि आकर्षक ‘होलिडे प्याकेज’ सञ्चालनको तयारी गरेको छ । कोभिडकै समयमा बुद्धले एउटा एटीआर जहाज थपेको छ । यससँगै कम्पनीसँग ७२ सिट क्षमताका १० ओटा एटीआर–७२ जहाज छन् भने ४२ सिटका तीनओटा एटीआर र दुईओटा बिचक्राफ्ट जहाज छन् । उडान सेवा सञ्चालनमा स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गरिएको भन्दै कम्पनीले अहिले कोभिडकै बीच उल्लेख्य संख्याका यात्रुले हवाई यात्रा रोजेको बताएको छ ।आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्