दक्षिण कोरियाली राजदूतलाई नेपाली कामदार लैजान आग्रह



काठमाडौं,साउन १४ । अर्थमन्त्री जनार्दन शर्मा र दक्षिण कोरियाली राजदूत पार्क चोङ सकबीच दक्षिण कोरियामा नेपाली कामदार लैजाने विषयमा भेटवार्ता भएको छ ।

बुधवार अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले भाषा परीक्षा उत्तीर्ण गरी कोरिया जान नपाएका युवाहरूलाई काम गर्ने वातावरण बनाइदिन आग्रह गरे ।

कोभिड–१९ महामारीका कारण रोकिएको प्रक्रिया चाँडै अघि बढाउन सरकारको तर्फबाट गर्नुपर्ने आवश्यक काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री शर्माले कोरियाको तर्फबाट आवश्यक प्रक्रिया अघि बढाइदिन समेत आग्रह गरेका छन्  ।

‘ईपीएसअन्तर्गत कोरियाली भाषा परीक्षा उत्तीर्ण गरेका हजारौं युवाहरू बेरोजगार बसेका छन् । यो समस्या चाँडै समाधान गरिनेछ भन्ने विश्वास लिएको छु,’ मन्त्री शर्माले भने ।

जवाफमा राजदूत पार्कले रोकिएको ईपीएसको काम अघि बढाउन आफूले पहल गर्ने वचन दिए । नेपालीहरूको मिहेनत र इमानदारीबाट कोरियाली रोजगारदाताहरू खुशी रहेको प्रसंग उल्लेख गर्दै राजदूत पार्कले भाषा परीक्षा उत्तीर्ण गरी पालोमा बसेका श्रमिकहरूलाई काममा पठाउने प्रक्रिया अघि बढाइने बताए । भेटको क्रममा अर्थमन्त्री शर्माले कोभिड–१९ विरुद्धको खोप पहिलो प्राथमिकता भएको भन्दै त्यसका लागि कोरियाली जनताको तर्पmबाट आवश्यक सहयोग रहने विश्वास व्यक्त गरे ।

नेपालको स्वास्थ्य, शिक्षा र प्रविधिको क्षेत्रमा कोरियाले गरिरहेको सहयोगप्रति अर्थमन्त्रीले आभार व्यक्त गरे । दक्षिण कोरियाले नेपालमा स्वास्थ्य, शिक्षा, जलविद्युत्लगायत क्षेत्रमा लगानीसमेत गर्दै आएको छ । कोरियाली लगानीमा भक्तपुरको ठिमी, नुवाकोट, धनगढी र मुगुमा सुविधासम्पन्न अस्पताल निर्माण भएको छ भने महोत्तरीको बर्दिवासमा मोडेल पोलिकेक्निक कलेजको स्थापना हुँदै छ । उक्त कलेजले निर्माण क्षेत्रको दक्ष जनशक्ति उत्पादन गर्नेछ ।

भेटमा राजदूत पार्कले कोरियाली लगानी रहेको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको काममा भइरहेको ढिलाइबारे चासो राखेका थिए । आयोजनामा ढिलाइ हुँदा लागत बढ्न जानेतर्फ चिन्ता रहेको उनले बताए । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्