छहरे-टोखा सडकखण्डमा पुनः पहिरो, विदुरको मैथली ब्यारेक सडक भासियो



नुवाकोट, साउन १४ । नुवाकोट-काठमाडौ आवातजावत को छोटो मार्ग छहरे-टोखा सडकखण्डको गुरुङ गाउँमा पुनः पहिरो गएको छ।

गुरुङगाउँको ठुलो पहरोमा झण्डै २ सय मिटर माथिबाट पुनः पहिरो खसेको हो। यसअघि आइतबार पहिरो गएको थियो । अवरुद्ध सडकखण्ड सोमबार बिहान डोजरका सहायताले पहिरो हटाई सञ्चालनमा ल्याइएको थियोे । संचालनमा आएको सडकखण्ड सोही ठाउँमा पहिरो जादा पुन अवरुद्ध भएको गुर्जेस्थित अस्थायी प्रहरी पोस्टका असई बिचारी श्रेष्ठले बताए।

श्रेष्ठले साझापथसंग कुरा गर्दै बुधबार राति ८ बजेतिर पहिलेको भन्दा ठुलो पहिरो सडकमा झरेको बताए ।ठूलाठूला ढुङ्गासहित पहिरो खसेकाले अत्यावश्यक सवारीसाधनले वैकल्पिक मार्ग प्रयोग गर्न श्रेष्ठले आग्रह गरे ।

वर्षायाम र निर्माणाधीन सडकखण्ड भएकाले डोजर तथा स्काभेटर स्टाण्ड बाई यस क्षेत्रमा राखिनुपर्ने स्थानीय नारायण गुरुङ बताउँछन् ।

उता बुधबार साँझ परेको अविरल वर्षाका कारण जिल्लाको विदुर नगरपालिका अन्तर्गत साविक मैथली व्यारेक हुदै बट्टार ब्यारेक खोल्सामा पासाङ्ल्हामु राजमार्ग भासिएको छ । सडक भासिदा नुवाकोटको विदुरदेखि रसुवासम्मको यातायात साधन विदुर चोकमा र बट्टारदेखि काठमाडौंसम्मको यातायात साधन बट्टारमा रोकिएको छ । विदुरदेखि बट्टार पैदल यात्रासमेत असम्भव भएको स्थानीयहरु बताउँछन् । स्थानीयले प्रशासन सामु तत्काल सडक संचालनका लागि अनुरोध गरेका छन् ।

विदुर-बट्टार बीच मैथली ब्यारेक नजिकैको भासिएको सडक

प्रतिक्रिया दिनुहोस्