कपिलवस्तुमा शिक्षकहरुद्धारा रिले अनसन



कपिलवस्तु,साउन १६ ।  कपिलवस्तुका विभिन्न सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुले जिल्लाभरका स्थानीय तह र जिल्ला शिक्षा समन्वय ईकाई अगाडी रिले अनशन सहितको आज विरोध जनाएका छन् । जिल्लाका सबै वर्गका शिक्षक तथा बालविकासका शिक्षिकाहरुले आ–आफ्ना पेशागत हक हितका माग राख्दै पटकपटक आन्दोलन गर्दै आएका हुन ।

उनीहरुले शिक्षकका माग सरकारले नसुनेको आरोप पनि लगाएका छन् । नेपाल शिक्षक संघका बाणगंगा नगर सभापति कुलराज पौडेलले सरकारसँग राखेका शैक्षिक तथा पेशागत हकहितका मागहरु पूर्ण कार्यान्वयनको माग राख्दै आज कपिलवस्तुमा रिले अनसन बसेको बताउनुभयो । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आयोजनामा देशव्यापी सुरु भएको चौथो चरणको आन्दोलन अन्र्तगत शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयको अगाडी समेत शिक्षकहरुले अनशन तथा धर्ना दिएका थिए ।

मागहरुको पूर्ण कार्यान्वयनको माग गर्दै अनसन र धर्ना कार्यक्रम गरिएको शिक्षकहरुको भनाई छ । अनसनमा नेपाल राष्ट्रिय शिक्षक महासंघ अन्तरगतका विभिन्न भातृ शिक्षक संघ तथा संगठन र समूहहरुको सहभागिता रहेको थियो । पहिलो चरणको आन्दोलनमा शिक्षा विभागसँग भएको सम्झौता अनुसार सबै बुँदाहरु कार्यान्वयन नभएकाले अनसन र धर्ना कार्यक्रमहरु गरिएको शिक्षकहरुले बताएका छन्।

शिक्षकहरुको पेशागत हकहित र अधिकारका लागि नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले शिक्षा विभागलाई २०७५ फागुन ९ गते ३४ सुत्रिए मागहरु बुझाएको थियो। ३४ बुँदाहरुमध्ये ३० बुँदामा सहमती भए पनि कार्यान्वयन नभएकाले शिक्षक संघ तथा संगठनहरुले आज कपिलवस्तुका स्थानीय तहहरु र शिक्षा विकास तथा समन्व्य ईकाई अगाडी अनसन बस्दै विरोध जनाएका हुन ।

प्रतिक्रिया दिनुहोस्