समाजवाद उन्मुख अर्थतन्त्रको निर्माणमा लाग्न अर्थमन्त्रीको निर्देशन



काठमाडौं,साउन १९ । समाजवाद उन्मुख अर्थतन्त्रको निर्माणमा लाग्न अर्थमन्त्री जनार्दन शर्माले अर्थसचिव मधुकुमार मरासिनीलाई निर्देशन दिएका छन् ।

मन्त्रिपरिषद्मा सरुवा भएका सचिवको बिदाइ र हालै मन्त्रालयमा आएका अर्थसचिवलाई सोमवार स्वागत गर्ने कार्यक्रममा बोल्दै मन्त्री शर्माले संविधानले निर्दिष्ट गरेबमोजिम समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कार्यलाई ध्यान दिएर काम गर्न नवनियुक्त सचिव मरासिनीलाई निर्देशन दिए ।

अबका दिनमा थोरै समय मात्र सुतेर बाँकी सम्पूर्ण समय आफूसँगै रहेर मन्त्रालयको काममा खट्न उनको आग्रह छ । आन्तरिक स्रोत बढाउने र ऋण तथा व्यापारघाटा घटाउने मुख्य कार्यभार सम्पन्न गर्न निकै मेहनत गर्नुपर्ने भन्दै मन्त्री शर्माले अन्य विभागीय प्रमुखसहित सबै कर्मचारीहरूले समेत सोही मर्मलाई मनन गर्न निर्देशन दिए ।

‘मन्त्रालयमा टेबुल टेबुलको शासन चलाएर हुँदैन । अत्यावश्यकीय महत्त्वपूर्ण विषयहरूमा एउटै टेबुलमा बसेर छिटोछिटो काम गर्नुपर्छ,’ मन्त्री शर्माले भने, ‘मन्त्रीले जान वा अञ्जानमा देशलाई घाटा हुने कुनै कुरा गर्‍यो भने त्यसलाई सीधै हुँदैन भन्न सक्नुपर्छ, म त्यस्तो कर्मचारी चाहन्छु ।’

कार्यक्रममा अर्थसचिव मरासिनीले साना तथा मझौला उद्योगको प्रवर्द्धनमार्फत रोजगारी वृद्धि गरेर अर्थतन्त्र चलायमान बनाउने दिशामा मेहनतपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

जापानी अर्थतन्त्रमा साना तथा मझौला उद्योग व्यवसायले ७० प्रतिशत योगदान गरेको प्रसंग उल्लेख गर्दै सचिव मरासिनीले यस्ता उद्योगले देशमा बेरोजगारी र गरिबीको अन्त्य गर्न सहयोग पुर्‍याउने धारणा व्यक्त गरे ।

कार्यक्रममा सचिव शिशिरकुमार ढुंगानाले कोभिड–१९ को कारण अर्थतन्त्रमा परेको नकारात्मक असरहरू विस्तारै घट्दै गएको भन्दै चिन्ता गर्नुपर्ने अवस्था नरहेको स्पष्ट पारे । कोभिड महामारीकै बीच राजस्व संकलनको लक्ष्य ९२ प्रतिशत पूरा भएको, १० महीनाको कारोबार धान्न सक्ने गरी वैदेशिक मुद्राको सञ्चिति रहेको, विप्रेषण वृद्धि हुनुको साथै औपचारिक च्यानलमा आएको, निर्यात वृद्धि भएको लगायत सकारात्मक परिसूचकहरूसहित आफूले जिम्मेवारी हस्तान्तरण गरेको बताए ।

अर्थसचिव मरासिनीले सोमवार नै पदबहाली गरेका छन् । महालेखा नियन्त्रकको कार्यालयबाट अर्थ मन्त्रालयमा सरुवा भएका सचिव मरासिनीको पद बहालीसँगै अर्थसचिव शिशिरकुमार ढुंगानालाई बिदाइ गरिएको छ । आगामी ६ महीनापछि सेवानिवृत्त हुन लागेका सचिव ढुंगानाको प्रधानमन्त्री कार्यालयमा सरुवा भएको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्