अन्तरराष्ट्रिय हवाई उडान तालिका सार्वजनिक, सातामा ६७ ओटा हवाई उडान



काठमाडौं,साउन १९ । नेपाल नागरिक उड्डयन प्राधिकरणले अगष्ट महीना भर सातामा कुल ६७ ओटा उडान गर्ने गरी अन्तरराष्ट्रिय हवाई उडान तालिका सार्वजनिक गरेको छ ।  

प्राधिकरणका अनुसार नेपाल एयरलाइन्सले उक्त अवधिभर सातामा १५ ओटा र हिमालय एयरलाइन्सले सातामा १३ ओटा उडान गर्नेछ । 

प्राधिकरणका अनुसार नेपाल एयरलाइन्सले दोहाको कतारमा दैनिक एक उडान गर्ने गरी अनुमति पाएको छ । नेवानिले दुबई अन्तरराष्ट्रिय विमानस्थलमा साताको दुई (सोमवार र बुधवार), मलेशियाको क्वालालाम्पुरमा साताको दुई (मंगलवार र शुक्रवार), भारतको नयाँ दिल्लीमा साताको तीन (सोमवार, बुधवार र शनिवार) र जापानको नारितामा हरेक बिहीवार उडान गर्ने गरी अनुमति पाएको छ ।

यसैगरी हिमालय एयरलाइन्सले  मलेशियाको क्वालालाम्पुरमा आइतवार, बुधवार, बिहीवार, शुक्रवार र शनिवार गरी पाँच ओटा उडान गर्नेछ। दुबई इन्टरनेशनल एयरर्पोटमा समेत हिमालयले साताको तीन (सोमवार, बुधवार र शनिवार) उडान गर्नेछ । हिमालय एयरलाइन्सले कतारको राजधानी दोहामा भने साताको पाँच (सोमवारदेखि शुक्रवारसम्म) उडान गर्न अनुमति पाएको प्राधिकरणले बताएको छ ।

एयर इण्डियाले भारतको राजधानी नयाँ दिल्लीबाट हरेक आइतवार, मंगलवार र शुक्रवार नेपाल उडान गर्नेछ । फ्लाई दुबईले भने दुबईबाट मंगलवार, बुधवार र शुक्रवार गरि सातामा तीन ओटा उडान गर्न अनुमति पाएको छ ।

कतार एयरवेजले कतारको दोहाबाट काठमाडौंमा दैनिक दुई ओटा उडान गर्न अनुमति पाएको छ । सलाम एयरले ओमानको मस्कटबाट आइतवार, मंगलवार र बिहीवार नेपालमा आउन अनुमति पाएको छ । टर्किस एयरलाइन्सले सोमवार, बिहीवार र शनिवार नेपाल उडान गर्ने भएको छ । सिंगापुर एयरलाइन्सले भने हरेक आइतवार नेपालमा उडान गर्न अनुमति पाएको छ ।

जजिरा एयरवेजले कुवेतबाट हरेक दिन नेपाल उडान गर्नेछ । कोरियन एयरले हरेक बुधवार काठमाडौं उडान गर्ने भएको छ । मालिन्दो एयरको जहाज क्वालालाम्पुरबाट सोमवार, बुधवार र शनिवार काठमाडौं आउनेछ ।

मलेशिया एयरलाइन्सले हरेक शनिवार क्वालालाम्पुरबाट काठमाडौंमा उडान गर्ने गरि अनुमति पाएको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्