प्राधिकरणका कार्यकारी निर्देशक शाक्य भन्छन् – सरकारले जहाँ पठाए पनि जान तयार छु



अन्यायपूर्वक हटाउन खोजे अदालत जाने

काठमाडौं,साउन २१ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूलाई सरकारले जहाँ सुकै पठाए पनि जान तयार रहेको बताएका छन् । निर्देशक शाक्यले सरकारले आफूलाई अन्य जिम्मेवारी दिने सन्दर्भमा आवश्यकता अनुसार जहाँ जान पनि तयार रहेको बताएका हुन् ।

‘मलाई अब अरू कुनै जिम्मेवारी दिन सकिन्छ कि भनेर सोध्नुभएको छ । मैले मेरो आवश्यकता महसूस गरेर सरकारले जहाँ सुकै पठाए पनि जान तयार रहेको बताएको छु,’ बुधवार प्राधिकरणमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘मेरो प्राविधिक कार्यक्षेत्र हो । प्लानिङ पनि गर्छु । आफ्नो क्षेत्रसँग सम्बन्धित जुनसुकै क्षेत्रमा पठाए पनि काम गर्छु ।’

कार्यकारी निर्देशक शाक्यले आफ्नो कार्यकाल अवधिभर कोभिड महामारी र लकडाउन भएको भए पनि विद्युत्मा कुनै समस्या नहुनेगरी काम गरेको बताए । गतवर्षभन्दा यस वर्ष विद्युत् आपूर्ति कम रोकिएको उनको दाबी छ । अस्पतालहरूमा सबै समय विद्युत् उपलब्धताको बस्दोबस्त मिलाइएको पनि उनले बताए । यसबीचमा ढल्केबर ४०० केभी सबस्टेशनलाई नेपाल–भारत ४०० केभीमा सञ्चालनमा ल्याएको, खिम्ती–ढल्केबर २२० केभी सञ्चालन गरेको, माथिल्लो तामाकोशीको काम अगाडि बढाएको, थप १३ जिल्लामा पूर्ण विद्युतीकरण गरिएको र कर्णालीमा पहिलोपटक राष्ट्रिय प्रणालीको विद्युत् पु¥याएको उनको भनाइ छ ।

शाक्यले यस वर्ष १५ प्रतिशतले खपत बढेकाले चुहावट पनि बढेको बताए । कोभिडका कारण घरघरमा पुगेर अनुगमन गर्न र हुकिङ तार हटाउन समस्या उनको भनाइ छ । उनका अनुसार अहिले १ दशमलव ६ प्रतिशत विद्युत् चुहावट बढेको छ । शाक्यले आफ्नो अपमान गर्ने तवरले प्राधिकरणको नेतृत्व फेरिन नहुने समेत बताएका छन् । ‘सरकारलाई सहयोग गर्न अर्काे कुनै ठाउँमा काम गर्नेगरी पद छाड्न तयार छु, तर मलाई अन्यायपूर्वक हटाउन खोजियो भने अदालत जान्छु,’ उनले भने ।

पछिल्लो समय सरकार हेरफेरसँगै ऊर्जामन्त्री पम्फा भुसाल र प्रधानमन्त्री शेरबहादुर देउवा शाक्यसँग सन्तुष्ट छैनन् । मंगलवार प्रधानमन्त्री देउवाले ऊर्जामन्त्रीलाई डाकेर विद्युत्् प्राधिकरणको नेतृत्वप्रति चासो देखाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको थियो । त्यसलगत्तै ऊर्जामन्त्री भुसालले शाक्यलाई बोलाएर उनको कामबारे जानकारी लिएकी थिइन् । ऊर्जामन्त्री स्वयम् प्राधिकरणको हालको नेतृत्वको कामकारबाहीप्रति सन्तुष्ट छैनन् । केही दिनअघि उनले ऊर्जा मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा प्राधिकरणको नेतृत्व फेर्नुपर्ने आशयको अभिव्यक्ति दिएकी थिइन् । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्