अटोमोबाइल क्षेत्रलाई राहत दिन माग



काठमाडौं,साउन २१ । व्यवसायीहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी अटोमोबाइल क्षेत्रलाई राहतको व्यवस्था गर्न माग गरेका छन् । बुधवार नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालका प्रतिनिधिहरूले प्रधानमन्त्री देउवालाई भेटी कोभिडका कारण सृजित बन्दाबन्दीले व्यवसाय नै धरापमा परेकाले यसलाई गतिशील बनाउन सरकारबाट विशेष पहल गर्न अनुरोध गरेका हुन् ।

नाडाका उपाध्यक्ष करण चौधरीको नेतृत्वमा गएको ७ सदस्यीय प्रतिनिधि टोलीले बस, मिनीबस र मोइक्रोबस व्यवसायीहरू ठूलो मर्कामा परेकाले आर्थिक राहतको माग गरिएको नाडाका महासचिव सुनील रिजालले बताए ।

गत वैशाख १६ गतेदेखि कोभिडको संक्रमण बढेको भन्दै काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाएपछि २ महीनासम्म यो व्यवसाय ठप्प भयो । गत असार तेस्रो सातादेखि अटोमोबाइल व्यवसाय सञ्चालनमा आएको थियो । अघिल्लो वर्षको बन्दाबन्दीपछि बढेको अटोमोबाइलको माग माघ महीनापछि धान्नै नसक्ने अवस्था आएको थियो । मागअनुसार सवारी आपूर्ति गर्न नसक्दा व्यवसायीहरूले वैशाखसम्म गाडीको अग्रिम बुकिङ गरिरहेका थिए ।

वैशाखको आधाआधीबाट जारी निषेधाज्ञा अहिले खुकुलो हुँदै गए पनि हाल शोरूममा सवारीसाधनबारे बुझ्ने ग्राहक नै नभएको नाडाका सचिव अनुपकुमार बराल बताउँछन् । ‘अघिल्लो वर्ष कोभिडपछि सार्वजनिकभन्दा निजी सवारीप्रति आकर्षण बढेको र उत्पादन पनि मागभन्दा कम भएकाले बजार माग बढी देखिएको थियो,’ उनले भने, ‘अहिले पनि बजार माग नभएको भन्ने होइन, तर नीतिगत कठिनाइका कारण गाडी खरीद गर्न कठिन भएको हो ।’ उनले गाडीका लागि बैंक कर्जाको सीमा कम भएकाले गाडीको विक्री घटेको बताए ।

प्रधानमन्त्रीसँगको छलफलमा केन्द्रीय कार्यसमिति सदस्य राजनबाबु श्रेष्ठले लामो बन्दाबन्दीका कारण अटोमोबाइल क्षेत्र धराशयी भएकाले व्यवसायीलाई राहतको व्यवस्था गर्न प्रधानमन्त्रीसँग अनुरोध गरेका थिए । वन तथा वातावरण मन्त्रालयले जीप, कार, भ्यान र मोटरसाइकलमा यूरो ६÷बीएस ५ मापदण्ड लागू गर्न लागेकोमा सराहना गर्दै त्यसलाई तत्काल लागू गर्न व्यवसायीहरूले सुझाव दिएका थिए । भेटघाटमा प्रधानमन्त्री देउवा आफ्ना मागप्रति सकारात्मक भएको तथा पूरा गर्नैपर्छ भनी आश्वासनसमेत दिएको व्यवसायीको भनाइ छ । प्रधानमन्त्रीले अटोमोबाइल क्षेत्रका समस्या समाधानका लागि आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरेको नाडाका महासचिव रिजालले जानकारी दिए । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्