सबै परीक्षा स्थगन गर्न सिफारिस



काठमाडौं, साउन २३। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा सञ्चालन हुने सबै परीक्षा स्थगन गर्न सिफारिस गरेको छ । कोरोना संक्रमण फैलने क्रम बढेपछि सम्भावित जोखिम कम गर्ने उद्देश्यले सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई सिफारिस गरिएको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिए ।

मुख्यतः निकट भविष्यमा कक्षा १२ सहित स्नातक र स्नातकोत्तर तहका विभिन्न परीक्षा सञ्चालन गर्ने तयारी थियो । कोरोना संक्रमण बढ्दै गएपछि जोखिमलाई मध्यनजर गर्दै शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई परीक्षा स्थगन गर्न सिफारिस गरिएको हो ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री श्रेष्ठले जोखिमको अवस्थामा परीक्षा सञ्चालन गर्न नसकिने बताए । उनले कोभिड–१९ संक्रमण फैलँदै गएको विद्यमान परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति संवेदनशील भएर सो निर्णय गरिएको बताए । स्वास्थ्य मन्त्रालयले पटकपटक जनस्वास्थ्यको मापदण्ड कार्यान्वयन नभएको भन्दै प्रश्न उठाउने गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले कोरोना जोखिम न्यूनीकरणका लागि भौतिक दूरी कायम गर्दै मास्कको समुचित प्रयोग अनिवार्य भएको बताए ।

बिहीबार संसद्को शिक्षा तथा स्वास्थ्य समितिले पनि कक्षा १२ को परीक्षा सञ्चालन सन्दर्भमा गम्भीर हुन सरकारलाई निर्देशन दिएको थियो । कक्षा १२ को परीक्षा साउन ३१ गतेबाट सुरु हुने तालिका सार्वजनिक भइसकेको छ । यस्तै, स्नातक तहका विद्यार्थीहरू पनि परीक्षाको पर्खाइमा छन् ।

यो समाचार राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्