दार्चुला घटनाको सत्यतथ्य छानबिन गर्न नेता कोइरालाको माग



विराटनगर,साउन २४ । दार्चुलामा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर बेपत्ता भएका जयसिंह धामीको विषयमा सत्यतथ्य छानबिन गर्न प्रदेश १ का प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले माग गरेका छन् । बिहीवार १ नम्बर प्रदेशसभाको बैठकमा विशेष समय लिएर बोल्दै नेता कोइरालाले उक्त माग गरेका हुन् । दार्चुलामा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर बेपत्ता भएका धामीको विषयमा विभिन्न कुरा समाचार सार्वजनिक भइरहेका बेला छानबिन गरेर यथार्थ बाहिर ल्याउन उनले सभामुखमार्फत माग गरेका हुन् ।

नेता कोइरालाले सुनसरीको दुहबी र इनरुवा सडकखण्ड निर्माण गर्न समेत सभामुखमार्फत प्रदेश सरकारलाई आग्रह गरे । लामो समयदेखि इनरुवा दुहबी सडकखण्ड निर्माण नहुँदा स्थानीयवासीका साथै सवारीसाधान आवतजावतमा समस्या भएको भन्दै उक्त बाटो निर्माणका लागि तदारुकता देखाउन प्रदेश सरकार समक्ष माग गरेका छन् ।

त्यसैगरी प्रदेश १ मा खोप अभियानकोे अहिलेसम्मको प्रगति विवरणको जानकारी माग गरे । साथै प्रदेशको बाढी पहिरोबाट पीडित हुने सम्भावित ठाउँको पहिचान गरेर त्यस ठाउँमा कसरी बाढीबाट हुने जोखिम न्यूनीकरण गर्न सकिन्छ भन्नेतर्फ ध्यान केन्द्रित गर्न समेत उनले प्रदेश सरकारलाई आग्रह गरे । नेपाल प्रहरी विधेयक हातार हतार गरेर पास गरेको भए पनि अहिलेसम्ममा त्यसको नतीजा केही नआएको र अहिलेसम्म अन्योल कायमै रहेको भन्दै उनले उक्त विषयमा भइरहेको कामकारबाहीको यथार्थ जानकारी गराउन माग गरेका छन् ।आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्