१ अर्बभन्दा बढीको सियो आयात



काठमाडौं,भदौ ४ । नेपालमा अझै पनि एउटा उखान प्रचलित छ, ‘यो देशमा सियो त बन्दैन, अरू के बन्छ र ?’ यही उखानमार्फत नेपालको औद्योगिक विकासको सन्दर्भमा व्यंग्य पनि गरिन्छ ।

यो उखान आजको दिनसम्म पनि सत्य हो । वास्तवमा नै आजको दिनसम्म नेपालमा सियो उत्पादन गर्ने उद्योग स्थापना भएको छैन । नेपालमा ठूलाठूला उद्योग स्थापना हुने क्रम जारी छ । तर, एउटा सामान्य सियो उत्पादन गर्ने उद्योग हालसम्म स्थापना भएको छैन । साथै, त्यस्ता उद्योग स्थापनामा गर्नमा सरकार तथा निजीक्षेत्रले पनि वास्ता गरेका छैनन् ।

नेपालमा आवश्यक पर्ने कुनै पनि प्रकारको सियो विदेशबाट नै आयात गर्नुपर्ने बाध्यता रहेको छ । विशेषगरी नेपाल र भारतदेखि यसको आयात गर्ने गरिन्छ, जुन पछिल्ला वर्षहरूमा बढ्दै पनि गएको छ । गत आवमा मात्र नेपालमा रू. १ अर्ब १३ करोड ८६ लाख ७२ रुपैयाँको सियो आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आवको वैदेशिक व्यापारसम्बन्धी तथ्यांकले यस्तो देखाएको हो ।

कपडा सिलाउने र अस्पतालमा प्रयोग हुने गरेर नेपालमा उल्लिखित बराबरको सियो आयात भएको हो, जुन अघिल्लो आवको तुलनामा करीब २७ प्रतिशतले बढी हो । अघिल्लो आव २०७६/७७ मा ८९ करोड ७८ लाख ५४ हजार रुपैयाँको सियो आयात भएको थियो ।

गत आवमा ३ करोड ४४ लाख ६७ हजारको कपडा सिलाउने सियो आयात भएको छ । अस्पतालमा प्रयोग हुने सियोको आयात भने अत्यधिक मात्रामा हुने गर्छ । गत आवमा रू. १ अर्ब १० करोड ४२ लाख बराबरको अस्पतालमा प्रयोग हुने सियोको आयात भएको छ ।

अघिल्लो आवमा भने रू. ३ करोड ५४ लाख २६ हजारको कपडा सिलाउने सियो आयात भएको थियो । अस्पतालका लागि भने रू. ८६ करोड २४ लाख २८ हजारको सियो आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रका वरिष्ठ अधिकृत कृष्ण बजगाईंले मेडिकल क्षेत्रमा प्रयोग हुने सियोको आयात उच्च मात्रामा हुने गरेको बताए ।

साथै, कपडा बुन्ने सियोको आयात पनि हुँदै आएको उनको भनाइ छ । समग्रमा यस्ता सियो नेपालमा उत्पादन नहुँदा आयात गर्नु परेको उनको भनाइ छ ।

नेपालमा लागत बढी लाग्ने भएकाले सियो उत्पादन नभएको हुन सक्ने उनले बताए । ‘नेपालमा उत्पादन गर्नुभन्दा आयात गर्दा नै सस्तो पर्छ । त्यो अवस्थामा यहाँ सियो उत्पादन गर्ने उद्योगहरू नआएका हुन सक्छन्,’ उनले भने, ‘तर, यस सम्बन्धमा सरकारले आवश्यक अनुदानको व्यवस्था गरेमा सियो उत्पादन गर्ने उद्योगहरू आउन सक्छन् ।’

विशेषगरी नेपालमा पर्ने प्रतिगोटा उत्पादन लागत र चीन तथा भारतमा हुने उत्पादन लागतको अन्तरमा सरकारले अनुदान दिनुपर्ने उनको भनाइ छ । ‘मानौं, सियो उत्पादन गर्दा नेपालमा ५० पैसा र विदेशमा ३५ पैसा लाग्छ,’ उनले भने, ‘त्यो अवस्थामा नेपाल सरकारले बीचको अन्तर अर्थात् १५ पैसा अनुदान स्वरूप दिनुपर्छ । यस्तो व्यवस्था गर्न सकिएन भने सियो उत्पादन गर्ने उद्योग आउन सक्दैनन् ।’ आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्