गैरआवासीय नेपाली सङ्घको दशौँ विश्व सम्मेलन कात्तिकमा हुने



काठमाडौँ,भदौ ५ । गैरआवासीय नेपाली सङ्घको दशौँ विश्व सम्मेलन काठमाडौँमा हुने भएको छ । सम्मेलन आउँदो कात्तिक ६ गतेदेखि ८ गतेसम्म राजधानी काठमाडौँमा हुने भएको हो ।

सम्मेलनका लागि प्रधानमन्त्री तथा परराष्ट्र मन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा २० सदस्यीय उच्च स्तरीय आयोजक समिति गठन भएको परराष्ट्र मन्त्रालयले शुक्रबार जनाएको छ । सम्मेलनलाई भव्य र सभ्य तरिकाले सु–सम्पन्न गर्न गठन गरिएको समितिमा राष्ट्रिय योजना आयोगका सदस्य, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, परराष्ट्र सचिव, विभिन्न मन्त्रालयका सचिव, नेपाल लगानी बोर्ड, नेपाल राष्ट्र बैङ्क, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्स, गैरआवासीय नेपाली सङ्घ लगायत अन्य सम्बन्धित निकायका उच्चाधिकारी रहेका छन् ।

नेपाल सरकारले विदेशमा रहेका नेपालीको ज्ञान सीप, पुँजी, प्रविधि, सञ्जाल र पहुँचलाई नेपालको आर्थिक–सामाजिक विकासमा परिचालन गर्ने नीतिलाई उच्च प्राथमिकता दिएको छ । सोहीअनुसार यो विश्व सम्मेलन नेपालको विकासका लागि समेत कोसेढुङ्गा हुने अनुमान गरिएको छ । हरेक दुई वर्षको अन्तरालमा हुँदै आएको सम्मेलनको समन्वय परराष्ट्र मन्त्रालयले गर्दै आएको छ ।

यस अवसरमा विश्वभर छरिएर आफ्ना ज्ञान, सीप र योग्यताको परीक्षण गर्दै आएका नेपाली आफ्नो मातृभूमिमा जम्मा हुने गर्छन् । जहाँ विश्वमा नेपालको पहिचान उच्च बनाउन आवश्यक नयाँ कार्यदिशाको खोजी गरिनेछ । साथै सङ्घको सुधार र परिमार्जनसँगै नयाँ नेतृत्वको चयनसमेत हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस्