जीवन बीमा कम्पनीहरूको नाफामा दोहोरो अंकको वृद्धि



काठमाडौं,भदौ ९ । जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्ष २०७७/७८ मा कुल ३ अर्ब ८० करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । हाल नेपालमा १९ जीवन बीमा कम्पनी सञ्चालनमा छन्, उनीहरूले हालै सार्वजनिक गरेको गत आवको अपरिष्कृत वित्तीय विवरणअनुसार उनीहरूको नाफा १२ प्रतिशतले बढेको छ ।

यो बीमा कम्पनीहरूको वास्तविक मुनाफा भने होइन । गत आवको समग्र व्यवसायको बीमांकीय मूल्यांकन गरेपछि जीवन बीमा कम्पनीहरूको नाफा थप बढ्नेछ । बीमांकीय मूल्यांकन गर्दा बीमा कोषबाट सीमित रकम नाफानोक्सान खातामा सार्ने व्यवस्था हुनेछ । त्यसअनुसार बीमांकीय मूल्यांकनपछि कम्पनीहरूको नाफा थप बढ्नेछ ।

वित्तीय विवरणअनुसार जीवन बीमा कम्पनीहरूले अघिल्लो आव २०७६/७७ मा रू. ३ अर्ब ४० करोड २४ लाख रुपैयाँ यस्तो (बीमांकीय मूल्यांकनअघिको) नाफा कमाएका थिए ।
कोरोना महामारीका कारण अघिल्लो आवमा जीवन बीमा कम्पनीहरूको नाफा वृद्धिदर एकल अंक (५ प्रतिशत) मा झरेको थियो । तर, गत आवमा भने कम्पनीहरूको नाफा वृद्धिदर दोहोरो अंकको भएको छ ।

जीवन बीमक संघ नेपालका अध्यक्ष निर्मलकाजी श्रेष्ठले व्यावसायिक गतिविधिकै कारण बीमा कम्पनीहरूको नाफामा वृद्धि देखिएको बताए ।

‘कोरोना महामारीका कारण बीमालेख नवीकरणमा कमी आउँछ कि भन्ने डर थियो । तर, त्यस्तो भएन । गत आवमा नवीकरण बीमाशुल्कमार्फत पनि ठूलो मात्रामा बीमाशुल्क उठ्यो,’ उनले भने, ‘त्यसैको कारणले पनि नाफामा सुधार देखिएको हो ।’

नवीकरण बीमाशुल्क नाफा वृद्धिको ठूलो आधार भएको उनी बताउँछन् । प्रथम बीमाशुल्क अभिकर्ता कमिशन, प्रचारप्रसारलगायत खर्चमा ठिक्क हुन्छ । नवीकरण बीमाशुल्क नै नाफा कमाउने मुख्य आधार भएको उनको भनाइ छ । यसैगरी स्टक मार्केटमा सूचीकृत पब्लिक कम्पनीको शेयर खरीदविक्रीबाट नाफा बढेको कतिपय कम्पनीहरूको भनाइ छ ।

नाफा कमाउने मामलामा यसपटक पनि नेपाल लाइफ नै अग्र स्थानमा देखिएको छ । नेपाल लाइफले गत आवमा ५३ करोड ५९ लाख रुपैयाँ नाफा कमाएको छ । दोस्रो नम्बरमा नेशनल लाइफ देखिएको छ । गत आवमा उक्त कम्पनीले रू. ४० करोड १२ लाख खुद नाफा कमाएको छ । यसैगरी तेस्रो स्थानमा रहेको सूर्या लाइफ इन्स्योरेन्सले रू. ३२ करोड ३२ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्