बचतमा आयो शोधनान्तर स्थिति



काठमाडौं,भदौ ११ । मुलुकबाट बाहिरिने र भित्रिने रकम बीचको अन्तर (शोधनान्तर स्थिति) बचतमा आएको छ । गत आर्थिक वर्ष (अब) को अन्त्य अर्थात् असार मसान्तसम्म आउँदा शोधनान्तर स्थिति रू. १ अर्ब २३ करोडले बचतमा आएको हो ।

नेपाल राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको गत आवको मुलुकको समग्र आर्थिक तथा वित्तीय स्थिति विषयक प्रतिवेदनले यस्तो देखाएको हो ।

अघिल्लो आव २०७६/७७ मा शोधनान्तर स्थितिमा रू. २ खर्ब ८२ अर्ब ४१ करोडले बचतमा थियो । तर, जेठ मसान्तसम्म शोधनान्तर रू. १५ अर्ब १५ करोडले घाटामा गएको थियो । असार मसान्तसम्म आउँदा शोधनान्तर स्थिति पुनः बचतमा आएको हो ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले असारमसान्तसम्म शोधनान्तर स्थिति बचतमा आएको बताए । ‘गत जेठसम्म आउँदा शोधनान्तर स्थिति घाटामा गएको थियो । तर, त्यो एकदम कम थियो,’ उनले भने, ‘शोधनान्तर घाटा कम हुँदा तत्काल बचतमा पुगेको हो ।’

गत आवको आर्थिक तथा वित्तीय स्थिति विषयक प्रतिवेदनले मुलुकको समग्र वित्तीय स्थिति सकारात्मक देखिएको छ । कोरोना महामारीका बीच पनि गत आवको वित्तीय स्थिति सन्तोषजनक रहेको ढकालले बताए ।

गत आवमा उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धि) प्रक्षेपणभन्दा कम देखिएको छ । राष्ट्र बैंकले गत आवमा उपभोक्ता मुद्रास्फीति औसतमा ७ प्रतिशतभित्र सीमित हुनेगरी मौद्रिक व्यवस्थापन गर्ने बताएको थियो । तर, गत आवमा वार्षिक औसत मुद्रास्फीति ३ दशमलव ६० प्रतिशत रहेको छ । अघिल्लो आवमा उपभोक्ता मुद्रास्फीति ६ दशमलव १५ प्रतिशत रहेको थियो । चालू आवमा उपभोक्ता मुद्रास्फीति औसत ६ दशमलव ५ प्रतिशतभित्र कायम गर्ने लक्ष्य लिइएको छ ।

२०७८ असारमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४ दशमलव १९ प्रतिशत रहेको छ । २०७७ असारमा यस्तो मुद्रास्फीति ४ दशमलव ७८ प्रतिशत रहेको थियो ।

गत आवमा घ्यू तथा तेल, दाल तथा गेडागुडी, सुर्तीजन्य पदार्थ र यातायात उपसमूहको वार्षिक औसत मूल्यवृद्धि क्रमशः १७ दशमलव ५४ प्रतिशत, १० दशमलव ६५ प्रतिशत, ९ दशलव ८३ प्रतिशत र ६ दशमलव ४१ प्रतिशत रहेको छ । गत आवमा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत मुद्रास्फीति ५ प्रतिशत रहेको छ । अघिल्लो आवमा उक्त समूहको मुद्रास्फीति ८ दशमलव १६ प्रतिशत रहेको थियो ।

गत आवको अन्त्यसम्म आउँदा चालू खाता घाटा बढेर रू. ३ खर्ब ३३ अर्ब ६७ करोड पुगेको छ । अघिल्लो वर्ष चालू खाता रू. ३३ अर्ब ७६ करोड घाटमा थियो । मङ्सिरबाट घाटामा जान थालेका चालू खाता असारसम्म आउँदा ≈वात्तै बढेको हो । पछिल्लो समय चालू खाता घाटा चुलिँदै गएको तथ्यांकले देखाएको छ ।

गत आवमा प्रत्यक्ष वैदेशिक लगानी शून्य दशमलव २ प्रतिशतले बढेको छ । गत आवमा रू. १९ अर्ब ५१ करोड बैदशिक लगानी आएको राष्ट्र बैंकको भनाइ छ । अघिल्लो आवमा रू. १९ अर्ब ४८ करोड वैदेशिक लगानी आएको थियो ।

गत आवमा विदेशी विनिमय सञ्चिति शून्य दशमलव २ प्रतिशतले घटेको छ । अघिल्लो आवमा रू.१४ खर्ब १ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति थियो । तर, गत आवमा त्यो घटेर रू. १३ खर्ब ९९ अर्ब ३ करोड कायम भएको राष्ट्र बैंकको भनाइ छ ।

राष्ट्र बैंकका कार्यकारी निर्देशन ढकालले विदेशी सञ्चिति घटे पनि आत्तिनुपर्ने अवस्था नभएको बताए । ‘उक्त विदेशी विनिमय सञ्चितिले १० महीनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्न पुग्छ । त्यसैले हामी यस मामलामा कन्फर्ट जोनमा नै छौं,’ उनले भने । यस्तै, गत आवमा विदेशी पर्यटनमार्फत हुने आम्दानी (भ्रमण आय) ८८ दशमलव १० प्रतिशतले घटेको छ । अघिल्लो आवमा विदेशी पर्यटकमार्फत रू. ६० अर्ब ८९ करोड आम्दानी भएको थियो । तर, गत आवमा रू. ७ अर्ब २७ करोड यस्तो आम्दानी भएको छ । कोरोना महामारीका कारण विदेशी पर्यटक आउन नसक्दा आम्दानी घटेको हो ।

यस्तै, नेपालीहरूले विदेश भ्रमणमा गर्ने खर्च पनि घटेको देखिएको छ । गत आवमा भ्रमण व्यय ३८ दशमलव ३ प्रतिशतले कमी आई रू. ३२ अर्ब ८० करोड कायम भएको प्रतिवेदनमा उल्लेख छ । त्यसमध्ये शिक्षातर्फको व्यय रू. २४ अर्ब ९६ करोड रहेको तथ्यांकमा उल्लेख छ । अघिल्लो आवमा भ्रमण व्यय रू. ५३ अर्ब १४ करोड रहेकोमा शिक्षातर्फको व्यय रू. २५ अर्ब ८१ करोड रहेको थियो ।

यस्तै, गत आवमा विप्रेषण आप्रवाह करीब १० प्रतिशतले बढेको छ । गत आवमा रू ९ खर्ब ६१ अर्ब ५ करोड विप्रेषण आएको छ । अघिल्लो आवमा भने विप्रेषण आप्रवाह शून्य दशमलव ५ प्रतिशतले घटेको थियो । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्