न्यादी हाइड्रोपावरको आईपीओमा हालसम्म १५ करोड ७९ लाख बराबरको आवेदन



काठमाडौं,भदौ १२ । न्यादी हाइड्रोपावर कम्पनीको आईपीओमा हालसम्ममा रू. १५ करोड७९ लाख ८२ हजार बराबरको आवेदन परेको छ । 

विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार हालसम्ममा ६ हजार ६१४ जनाले १५ लाख ७९ हजार ८२० कित्ता शेयरका लागि आवेदन दिएका हुन् ।  

कम्पनीले भदौ १ गतेदेखि आईपीओ निष्कासन गरेको हो । कम्पनीले लमजुङ जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दालाई १५ लाख कित्ता र संस्थापक शेयरधनी कम्पनीका कर्मचारीलाई ३ लाख कित्ता आईपीओ विक्री खुला गरेको हो । 

कम्पनीले अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका वडा न ३, ६, ७ र ८ का स्थानीय बासिन्दका लागि ५ लाख कित्ता र उक्त क्षेत्रबाहेक लमजुङ जिल्लाको अन्य क्षेत्रमा बस्ने स्थानीयलाई १० लाख कित्ता छुट्याएको हो । 

त्यसैगरी, न्यादीका संस्थापक शेयरधनीहरु बुटवल पावर कम्पनी र लमजुङ विद्युत् विकास कम्पनीका कर्मचारीहरुका लागि ३ लाख कित्ता शेयर छुट्याएको हो । 

आवेदकले न्यूनतम १० कित्ता देखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आवेदकले भदौ १५ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै शेयर विक्री नभएमा भदौ ३० गतेसम्म आवेदन दिन सकिने कम्पनीले जानकारी गराएको छ ।  आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले ग्लोबल आइएमई बैंकको लमजुङ जिल्लभर रहेका शाखा कार्यलय, सिभिल बैंकको भुलभुले शाखा र एनएमबि बैंकको बेशीसहर शाखाबाट आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, संस्थापक शेयरधनी संस्थाका कर्मचारीले न्यादी हाइड्रोपावरको कार्यलय बुद्धनगर काठमाडौंबाट आवेदन दिन सक्नेछन् । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले निष्कासन गरेको आइपीओलाई केयर रेटिङ नेपालले केयर रेटिङ डबल बी इस्युआर रेटिङ प्रदान गरेको छ । 

यस्तो रेटिङले कम्पनीको दायित्व बहन गर्ने क्षमता औषतमा जोखिम रहेको देखाउँछ । कम्पनीले लजमुङ जिल्लामा ३० मेगावट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्