तुलसीपुर उपमहानगरले १९ वटै वडामा एम्बुलेन्स दिंदै



दाङ,भदौ १३ । तुलसीपुर उपमहानगरपालिकाले एक वडा एक एम्बुलेन्सको अवधारणा अनुसार आइतबार तुलसीपुर वडा नं. १७ लाई एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

उपमहानगर मेयर घनश्याम पाण्डेले वडाध्यक्ष थलबहादुर पुरीलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै नगर प्रमुख पाण्डेले निर्वाचनमा गरेको बाचा अनुसार वडाका नागरिकलाई छिटो छरितो उपचार सेवा प्रदान गर्नका लागि एम्बुलेन्स हस्तान्तरण गरिएको बताए । उनले समयमै उपचार नपाउँदा अकालमा कुनै पनि नागरिकको ज्यान नजाओस भन्ने उद्देश्यले बिरामी, घाइते तथा समस्यामा परेका नागरिकलाई तत्काल अस्पतालसम्म लैजानका लागि वडामा एम्बुलेन्सको व्यवस्था गरिएको समेत बताए ।

पाण्डेले सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक र विपन्न व्यक्तिलाई नि शुल्क सेवा दिने समेत आग्रह गरे ।उपमहानगरपालिकाले यस अघि विकट मानिएका १, १९, १३ नम्बर वडामा एम्बुलेन्स हस्तातरण गरिसकेको छ ।

अब ४ वटा एम्बुलेन्स हस्तान्तरण गर्ने तयारी रहेको तुलसीपुर उपमहानगरपालिका यान्त्रिक शाखा प्रमुख केशव डाँगीले बताए । उनका अनुसार ४, ११, १५ र ८ मा रहेको मेट्रो हस्पिटललाई पनि एम्बुलेन्स हस्तान्तरण गरिने छ ।

प्रतिक्रिया दिनुहोस्