युरिया मलको चरम अभाव



काठमाडौं,भदौ १४ । किसानले असारमा रोपेको धानमा टपड्रेसिङ गर्ने समयमा नै युरिया मलको अभाव चुलिएको छ । मलको अभावका कारण यतिबेला अधिकांश जिल्लाका किसानहरूले धानमा टपड्रेसिङ गर्न मल पाएका छैनन् । सरकारले मलको अभाव नहुने दाबी गरिरहेकै बेला युरिया मलको अभाव चुलिएको हो ।

अहिले धानमा टपड्रेसिङ गर्न र गहुँँको सिजनका लागि करीब १ लाख १५ हजार मेट्रिकटनभन्दा बढी युरिया मल आवश्यक पर्छ । तर, सरकारसँग यतिबेला ७ हजार मेट्रिकटन युरिया मात्रै मौज्दात रहेको छ । यसबाहेक ३ हजार ८ सय मेट्रिकटन डीएपी र ३२ सय मेट्रिकटन पोटास मौज्दात रहेको छ ।

महामारीको प्रभावका कारण यस वर्ष अन्तरराष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढेकाले सरकारले छुट्ट्याएको बजेटले आवश्यक परिमाणमा मल खरीद गर्न नसकिएका कारण मलको अभाव चुलिएको साल्ट ट्रेडिङका प्रवक्ता कुमारराज भण्डारीले आर्थिक अभियान दैनिकलाई बताए ।

उनका अनुसार यसअघि प्रतिमेट्रिक टन ३ सय १७ डलर पर्ने युरिया मलको मूल्य बढेर अहिले ४ सय ५५ डलर पुगेको छ भने ४ सय २० डलर पर्ने डीएपी मलको मूल्य पनि बढेर ६ सय ५० डलर कायम भएको छ ।

मलको अभाव चुलिएसँगै चितवन, मकवानपुर, बारा, पर्सा सुनसरी, मोरङ, बाँके बर्दियालगायत अधिकांश जिल्लाका किसानहरूले धानमा टपड्रेसिङ गर्न नपाएको बताएका छन् । सुनसरीका अगुवा किसान भुवनेश्वर यादवले जिल्लाका धेरैजसो किसानले युरिया र पोटास नपाएका कारण धानमा टपड्रेसिङ गर्न नपाएको गुनासो गरे । ‘सहकारीमा मल छैन कहाँबाट टपड्रेसिङ गर्ने किसानलाई सधैं यस्तै समस्या छ,’ उनले भने । गतवर्ष पनि यही समयमा युरियाको अभाव भएपछि किसानले धानबालीमा मल हाल्न पाएका थिएनन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अहिले भइरहेको युरिया मलको अभावलाई कम गर्न भारत सरकारसँग जीटुजी प्रक्रियामार्फत मल आयात गर्ने कुरालाई चाँडोभन्दा चाँडो टुंगो लगाएर निष्कर्षमा पुर्‍याई मल आयातका लागि पहल गर्ने बारेमा मन्त्रालयले छलफल थालेको जानकारी दिएको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्