आर्थिक वर्षको पहिलो महीना ११५ प्रतिशतले बढ्यो निर्यात



काठमाडौं,भदौ १४ । चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो महीना नेपालले वैदेशिक व्यापारमा उल्लेख्य सुधार गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको साउन महीनाको तथ्यांकअनुसार नेपालको अन्तरराष्ट्रिय व्यापारमा उल्लेख्य वृद्धि भएकोमा आयातमा सकारात्मक वृद्धि भएको देखिन्छ ।

विभागको तथ्यांकअनुसार साउनमा अघिल्लो वर्षको यही अवधिको तुलनामा नेपाली वस्तुको निर्यात ११५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यही अवधिमा नेपालबाट रू. ९ अर्ब ६२ करोडको वस्तु निर्यात भएकोमा उक्त निर्यात बढेर रू. २० अर्ब ७६ करोड पुगेको छ ।

विभागको तथ्यांकअनुसार यस अवधिमा सबैभन्दा बढी भटमासको प्रशोधित तेल निर्यात भएको छ । कुल निर्यातको ४३ दशमलव २५ प्रतिशत अंश रहेको भटमासको तेल रू. ८ अर्ब ९८ करोड बराबरको निर्यात भएको छ । विदेशबाट कच्चा वस्तु ल्याएर प्रशोधन गरिने वस्तुको निर्यात बढेको हो । भटमासपछि पाम र सूर्यमुखी तेलको निर्यात पनि बढेको छ । पामको तेल रू. १ अर्ब ४२ करोडको निर्यात भएको छ । सेन्थेटिक यार्नको निर्यात रू. ९६ करोडको भएको छ भने रू. ८२ करोड बराबरको कार्पेन निर्यात भएको छ । त्यस्तै रू. ७९ करोड बराबरको सूर्यमुखी तेलको निर्यात भएको छ ।

यस अवधिमा आयात ७५ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यही अवधिमा रू. ८५ अर्ब ८० करोडको आयात भएकोमा यस वर्ष बढेर १ खर्ब ५० अर्ब ७३ करोड बराबरको वस्तु आयात भएको छ । यस अवधिमा सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयात भएको छ । विभागका अनुसार १५ अर्ब १ करोडको डिजेल, पेट्रोल तथा खाना पकाउने ग्यासको आयात भएको छ । यसैगरी अघिल्लो वर्षको साउनदेखि नै निरन्तर बढ्दै गएको मोबाइलको आयात पहिलो महीनामा रू. ४ अर्ब ८२ करोडको भएको छ । त्यसपछि फलाम, खाद्य सामग्री, ल्यापटपलगायत वस्तुको सबैभन्दा बढी आयात भएको छ ।

निर्यातमा उल्लेख्य सुधार भए पनि आयातमा निर्भर अर्थतन्त्रका कारण नेपालले वर्षको पहिलो महीनामै रू. १ खर्ब ४९ अर्ब ३१ करोडको व्यापारघाटा भएको छ । अर्थविद् शंकर शर्मा वैदेशिक व्यापारमा नेपालले निर्यातमा सुधार गर्न नसकेको बताउँछन् । आयातमा आधारित अर्थतन्त्र भएकाले आयात रोक्न नखोजेको हो भने पनि निर्यातमा सुधार गर्नुपर्नेमा त्यसमा मुलुक सफल नभएको उनले बताए । बाह्य मुलुकबाट कच्चा पाम, सूर्यमुखी र भटमास आयात गरेर निर्यात गर्नाले नेपालले आर्थिक हिसाबले प्रगति गर्न नसक्ने बताउँदै उनले स्वदेशी उद्योगको प्रवद्र्धन गर्नुपर्ने बताए । ‘ऊर्जालाई भारतीय बाटो हुँदै बंगलादेशसम्म निर्यात गरी व्यापारघाटा कम गर्न सकिन्छ,’ उनले भने, ‘नेपालको सबैभन्दा ठूलो उद्योग ऊर्जा हो, उत्पादन बढाएर निर्यात गर्नुपर्छ ।’आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्