सहुलियतपूर्ण कर्जामा युवाको आकर्षण बढ्दो



काठमाडौं,भदौ १४ । सरकारले ल्याएको ब्याज अनुदानसम्बन्धीे सहुलियतपूर्ण कर्जामा युवाको आकर्षण बढ्दै गएको छ । विना धितो सहुलियतदरमा कर्जा पाउने भएपछि यसप्रति युवाको आकर्षण बढ्दै गएको हो ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गतअसार मसान्तसम्ममा १ लाख ४ हजार १०९ जनाले सहुलियपूर्ण कर्जा लिएर व्यवसाय गरेका छन् । सरकारले २०७५ सालमा युवालाई स्वरोजगारमुखी बनाउन बैंकले विनाधितो ५ लाखदेखि ५ करोड रुपैयाँसम्म सहुलियपूर्ण कर्जा उपलब्ध गराउँदै आएका छन् । राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले सहुलियतपूर्ण कर्जा लिने युवाको संख्या बढेको बताए । उनका अनुसार गत आवमा ७२ हजार युवाले यस्तो कर्जा लिएका छन् । अघिल्लो आव यो संख्या ३२ हजार थियो । युवाले प्रस्तावसहित कर्जाका लागि निवेदन दिए बैंकले सहजै कर्जा उपलब्ध गराउने उनले बताए ।

प्रवक्ता ढकालले सहुलियतपूर्ण कर्जालाई थप व्यवस्थित बनाउन आवश्यक नीति तथा नियमन गर्न राष्ट्र बैंक तयार रहेको बताए । सरकारले सहुलियत कर्जाका लागि छुट्याएको १३ अर्बको सदुपयोग हुन गुणात्मक कर्जा कारोबारमा जोड दिनुपर्ने उनको भनाइ छ । अर्थ मन्त्रालयले युवालाई स्वरोजगार बनाउन ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५’ लागू गरेको छ । कार्यविधिअनुसार लगानी भएका कर्जाको अलग्गै लेखा परीक्षण गर्ने तयारी राष्ट्र बैंकको रहेको जानकारी प्रवक्त ढकालले दिए । सरकारले तोकिएको क्षेत्र, वर्ग तथा समुदाय लक्षित कर्जामा २ देखि ५ प्रतिशतसम्म ब्याज अनुदान दिँदै आएको छ ।

सरकारले विभिन्न बैंकमार्फत ९ प्रकारका व्यवसायका लागि कर्जा उपलब्ध गराउँदै आएको छ । एउटा वाणिज्य वा विकास बैंकको शाखाले न्यूनतम १० जना युवालाई कर्जा अनिवार्य रूपमा प्रवाह गर्नुपर्ने हुन्छ । बैंकहरूले व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा ५ करोडसम्म, शिक्षित युवा स्वरोजगार कर्जा अधिकतम ७ लाख, वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा १० लाखसम्म, महिला उद्यमशीलता कर्जा १५ लाखसम्म, दलित समुदाय व्यवसाय कर्जा १० लाखसम्म, उच्च, प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा ५ लाखसम्म र भूकम्पपीडितको निजी आवास निर्माण कर्जा ३ लाखसम्म उपलब्ध गराउँदै आएका छन् ।

राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेलले व्यावसायिक हुन चाहने युवालाई बैंकले विश्वास गरेर कर्जा प्रवाह गरिरहेको बताए । बैंकले विस्तारै विश्वास गर्न थालेकाले युवाले सहजै कर्जासमेत पाइरहेको उनको भनाइ छ । ‘बैंकले प्रवाह गर्ने कर्जामा सुरक्षणको केही समस्या देखिएको छ,’ उनले भने, ‘बैंकको कर्जामा सुरक्षाको सुनिश्चितता हुनेबित्तिकै मागेजति युवाले कर्जा पाउनेछन् ।’   
 
युवा र बैंकबीच विश्वासको वातावरण निर्माण गरेर कर्जा प्रवाहलाई सहजीकरण गर्नुपर्ने उनले बताए । उनका अनुसार सरकारले यस आर्थिक वर्षमा ५ प्रतिशत ब्याजमा का १३ अर्ब कर्जा प्रवाह गर्न बैंकलाई निर्देशन दिएको छ । उक्त रकम करीब ८० हजार युवाले प्राप्त गर्न सक्ने र यसमा परिषद्ले सहजीकरण गर्ने उनको भनाइ छ । राष्ट्र बैंकका अनुसार गत असार मसान्तसम्ममा १ लाख ४ हजार १०९ जनालाई १ खर्ब ६१ अर्ब ४४ करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा प्रवाह भएको छ । तीमध्ये कृषि तथा पशुपन्छी व्यवसाय कर्जाअन्तर्गत ४६ हजार ५७ ऋणीलाई १ खर्ब ६ अर्ब ९८ करोड र महिला उद्यमशील कर्जाअन्तर्गत ५५ हजार ५५१ महिला उद्यमीलाई ५० अर्ब ९८ करोड कर्जा प्रवाह भएको छ ।     

सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत २ हजार ५०१ ऋणीको ३ अर्ब ४८ करोड कर्जा बक्यौता रहेको राष्ट्र बैंकले बताएको छ । परिषद्का कार्यकारी उपाध्यक्ष ढुंगेलले संख्यात्मकभन्दा गुणात्मक हिसाबले युवा उद्यमीलाई सरल र सहज किसिमले कर्जा पाउने वातावरण बन्नुपर्नेमा सरोकारवालाको ध्यान जानुपर्ने बताए ।

शहरका घरजग्गा र कालोपत्र सडकले छोएका घरजग्गालाई मात्र धितो मान्ने चलन अब हट्नुपर्ने भन्दै उनले गाउँका युवा उद्यमीलाई लक्षित गरेर कर्जा लगानी बढाउन आग्रह गरे । कृषि विकास बैंकका नायब महाप्रबन्धक बाबुकाजी थापाले बैंकिङ प्रक्रिया र गलत जानकारीका कारण पनि कतिपय कर्जा लगानीमा अप्ठ्यारो परेको बताए । कतिपयले परियोजनाको लागतभन्दा ऋण धेरै माग गरेकाले कर्जा लगानी हुन नसकेको उनको भनाइ छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्