नुवाकोटको लिखुमा वर्षासंगै आएको बाढीले जयरामको १८ हजार कुखुरा बगायो



नुवाकोट,भदौ १५ । अविरल वर्षासंगै जिल्लाको लिखु गाउँपालिकाको स्थानीय खोलामा आएको बाढीले १८ हजार बोइलर कुखुरा बगाएको छ। गएराती भएको बर्षातसंगै स्थानीय फोकटे खोलामा आएको बाढीले वडा नम्बर ६ का जयराम बानियाँको कुखुराको खोर (टहरा)भित्र पसी विध्वंस मच्चाएको पीडित किसानले बताएका छन् ।

फार्म भन्दा केही माथी रहेको ड्याममा पहिरो गएको र खोला थुनिएर एकैपटक भत्कदा धान खेत मास्दै कुखुराको खोर भित्र छिरेको पीडित किसान जयरामले बताए । राती १० बजे तिर छिरेको खोलाको भेलले जयराम बानियाको १८ हजार भन्दा बढी कुखुरा नष्ट गरेको छ ।

बानियाँले विगत ५ बर्ष देखि उज्जवल लक्ष्मी कृषि फार्म नामक कुखुरा फार्म संचालन गरिरहेका थिए । ४५ दिन नाघेका १८ हजार भन्दा बढी कुखुराहरु बाढी पसेर नष्ट गरेपछि आफुलाई १ करोड भन्दा बढी नोक्सानी भएको उनले बताए । कुखुरा संगै हिजो मात्र खरिद गरेको १ मिनि ट्रक कुखुराको दाना पनि बाढीले बगाएको पीडित किसान बानियाँले बताए ।

प्रतिक्रिया दिनुहोस्