उठ्ने भयो काठमाडौंको फोहोर



काठमाडौं,भदौ १६ । काठमाडौं महानगरपालिकाले २ हप्तादेखि रोकिएको काठमाडौं उपत्यकाको फोहोर आजदेखि उठाउने भएको छ ।

कामपा प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजाल, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षकलगायतको बैठकले फोहोर उठाउने निर्णय गरेको हो । करीब २ हप्तादेखि उपत्यकाको फोहोर नियमित रूपमा उठ्न सकेको छैन । कामपासहित उपत्यकाका १८ स्थानीय तहको फोहोर उठ्न नसक्दा सहरका सडक, गल्ली, चोक र नदीकिनारमा फोहोरको डंगुर छन् ।

प्रमुख शाक्यले फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी कामपाको मात्रै नभई सम्पूर्णको समस्या रहेको भन्दै त्यसको सकारात्मक समाधानका लागि सबैतिरबाट अपेक्षा गरेको बताए । सिसडोलसम्म जानका लागि बाटो मर्मतको काम सडक विभागले तत्काल गर्ने निर्णय भएको पनि कामपाको वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए ।

सिसडोलका स्थानीय व्यक्तिका समस्याका विषय पनि समाधान गरिने श्रेष्ठले जानकारी दिए । ‘फोहोर उठाउन र त्यहाँ व्यवस्थापन गर्ने सन्दर्भमा सुरक्षा चुनौती देखियो भने शान्ति–सुरक्षाको व्यवस्था गृह प्रशासनले मिलाउनेछ,’ श्रेष्ठले भने, ‘त्यसका लागि जिल्ला प्रशासन कार्यालय नुवाकोट र काठमाडौंबीच समन्वय गरेर अघि बढिनेछ ।’

यता शहरी विकास मन्त्रालयले अर्काे १ हप्ताभित्र निर्माणाधीन बन्चरेडाँडामा फोहोर राख्न सकिने जनाएको छ । पहिलो सेल निर्माणको काम अन्तिम चरणमा पुगेको मन्त्रालयका सूचना अधिकारी सुरेशकुमार वाग्लेले जानकारी दिए ।

कामपाले गत साउन ३२ गतेदेखि नै सार्वजनिक रूपमा सूचना जारी गरेर नगरवासीलाई घरबाहिर फोहोर ननिकाल्न आग्रह गरेको थियो । उक्त सूचना सार्वजनिक भएको २ हप्तापछि फोहोर उठ्न लागेको हो । सिसडोलमा विसं २०६२ मा २ वर्षको मात्र फोहोर व्यवस्थापन गर्न सकिने क्षमताको ल्यान्डफिड साइट निर्माण गरिएको थियो । तर, पटकपटक त्यसैमा माटोले पुर्दै केही विस्तार गरेर अहिलेसम्म नै फोहोर व्यवस्थापन गरिँदै आइएको छ ।

हरेक दिन उपत्यकाबाट १ हजार २०० मेट्रिक टन फोहोर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसमध्ये सबैभन्दा बढी कामपाको मात्र ५०० मेट्रिक टन फोहोर निस्किने गर्छ । निजी र कामपाको गरी दैनिक कम्तीमा २०० गाडी फोहोर लैजाने गरिएकामा अहिले मुश्किलले ५० गाडीमात्र सिसडोल पुग्ने गरेका छन् ।

हाल फोहोर व्यवस्थापन गरिँदै आएको सिसडोलभन्दा दुई किलोमीटर टाढा बन्चरेडाँडामा दीर्घकालीन फोहोर व्यवस्थापनस्थल निर्माण गरिएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिल साइट नुवाकोट र धादिङको सिमानामा पर्छ । १३ वर्षदेखि नुवाकोटको सिसडोलमा उपत्यकाको १८ स्थानीय तहको फोहोर विसर्जन गरिँदै आएको छ । काठमाडौं उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहोरमध्ये करीब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्