बलियो हुँदै नेपाली मुद्रा



आयात सस्तो हुने, विप्रेषणमा भने नकारात्मक प्रभाव

काठमाडौं,भदौ १६ । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा बलियो हुँदै गएको पाइएको छ । पछिल्ला दिनहरूमा डलरको भाउ अवमूल्यन हुँदै गएको छ, फलस्वरूप डलरको तुलनामा नेपाली मुद्रा बलियो भएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो ६ दिनमा मात्र डलरको मूल्य करीब २ रुपैयाँले घटेको छ । गत बिहीवार एक डलरको खरीद मूल्य ११९ रुपैयाँ १० पैसा थियो, त्यो आज (बुधवार) सम्म आउँदा १ रुपैयाँ ९९ पैसाले घटेर ११७ रुपैयाँ ११ पैसामा कायम भएको छ ।

बिहीवारका लागि डलरको खरीद दर भने ११६ रुपैयाँ ५१ पैसा तोकिएको छ । मंगलवार डलरको विक्री मूल्य ११७ रुपैयाँ ५२ पैसा र खरीद मूल्य ११६ रुपैयाँ ९२ पैसा रहेको थियो ।

नेपाली रुपैयाँ पछिल्लो २ महीनायताकै बलियो भएको देखिन्छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले पछिल्ला दिनहरूमा डलरको तुलनामा नेपाली मुद्रा बलियो भएको बताए । डलरको तुलनामा भारतीय मुद्रा बलियो हुँदा नेपाली मुद्रा पनि बलियो भएको उनको भनाइ छ ।

‘विभिन्न कारणले पछिल्लो समय भारतीय मुद्रा डलरको तुलनामा बलियो हुँदै गएको छ । त्यसको असरले नै नेपाली मुद्रा बलियो भएको हो,’ उनले भने, ‘तर, अबको दिनमा कस्तो हुन्छ भनेर भन्न सकिँदैन । भारतीय मुद्रा बजार कस्तो हुन्छ, त्यसले नै निर्धारण गर्छ ।’

डलरको तुलनामा भारतीय रुपया (भारू) बलियो हुँदा नेपाली रुपैयाँ पनि बलियो भएको हो । नेपाली रुपैयाँको विनिमय दर भारूसँग आबद्ध पेग्ड गरिएको छ । त्यसले गर्दा भारू बलियो हुँदा नेपाली मुद्रा पनि बलियो भई डलरको मूल्य घट्छ । त्यसैगरी भारू कमजोर हुँदा नेपाली रुपया स्वतः कमजोर भई डलरको मूल्य बढ्ने हुन्छ । मंगलवार डलरको मूल्य ९० दशमवल ७० भारू रहेको थियो ।

भारतीय शेयरबजारमा वृद्धि र डलरको अरू मुद्रासँग दर घटेर यस्तो भएको बताइएको छ । साथै, गत शुक्रवार अमेरिकी केन्द्रीय बैंक प्रणालीका अध्यक्ष जेरमी पोवेलले ब्याजदर कमै राख्ने संकेत दिएका छन् । त्यसका कारण पनि भारतीय मुद्रा बलियो भएको बताइएको छ ।

त्यसमाथि पछिल्लो समय भारतीय क्यापिटल मार्केट बढ्दो क्रममा नै छ । भारतबाट हुने निर्यात पनि बढ्दै गएको छ । त्यसको असरले पनि भारतीय मुद्रा बलियो भएको र नेपाली मुद्रा पनि बलियो भएको बताइएको छ ।

डलरको मूल्य सस्तो भएसँगै आयात पनि सस्तो हुने राष्ट्र बैंकका कार्यकारी निर्देशक श्रेष्ठ बताउँछन् । साथै, नेपालले तिर्ने विदेशी ऋण पनि सस्तो पर्ने उनको भनाइ छ । ‘तर, विप्रेषण आप्रवाहमा भने नकरात्मक असर पुग्छ । साथै, निर्यात गर्दा पनि नेपाली मुद्राको तुलनामा कम विदेशी मुद्रा आउने हुन्छ ।’आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्