अप्टिकल फाइबर विस्तार कार्य तीव्र



काठमाडौं,भदौ १६ । सरकारले ‘डिजिटल नेपाल फ्रेमवर्क’को आकांक्षा पूरा गर्ने उद्देश्य अनुरूप अप्टिकल फाइबर बिछ्याउने कार्यलाई तीव्रता दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले ब्रोडब्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने परियोजनाअन्तर्गत ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी ब्रोडब्याड सेवा उपलब्ध गराउने १८ प्याकेजमध्ये १५ ओटामार्फत ६० जिल्लाका तोकिए बमोजिमका स्थानमा १०० प्रतिशत तथा दुईओटा प्याकेजमार्फत १० जिल्लाका तोकिए बमोजिमका स्थानमा ५० प्रतिशतभन्दा बढी कार्य सम्पन्न गरी सेवा सञ्चालनमा ल्याएको छ । ग्रामीण क्षेत्रका सामुदायिक विद्यालय, क्याम्पस, स्वास्थ्य चौकी, कृषि केन्द्र, पर्यटकीय केन्द्र, प्रत्येक वडालगायत सबै सार्वजनिकस्थलमा सूचना तथा सञ्चारको पहुँच पुर्‍याउने उद्देश्यले प्राधिकरणको २०७३ जेठ ३१ को बैठकबाट ग्रामीण दूरसञ्चार विकास कोषको उपयोग गर्ने निणर्य गरेको हो । प्राधिकरणका अनुसार एउटै प्याकेजमार्फत चार जिल्लाका तोकिए बमोजिमका स्थानमा ३० प्रतिशभन्दा बढी कार्य सम्पन्न भई सेवा सञ्चालनमा ल्याएको छ । सम्पन्न भएका परियोजनामध्ये हालसम्म ६ ओटा परियोजनाको अनुगमन तथा पुनर्मूल्यांकनको कार्य भइसकेको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । दुई परियोजनाको प्राधिकरणबाट नियुक्त परामर्शदाताबाट पहिलो चरणअन्तर्गत अनुगमन तथा पुनर्मूल्यांकन भइरहेको छ । दुई परियोजनाको दोस्रो चरणअन्तर्गत अनुगमन र एउटा परियोजना तेस्रो चरणअन्तर्गत अनुगमन भइरहेको छ । प्राधिकरणका अनुसार मध्यपहाडी लोकमार्ग तथा जिल्ला सदरमुकाम जोड्ने सूचना महामार्गअन्तर्गत ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी सञ्चालित मध्यपहाडी लोकमार्ग तथा जिल्ला सदरमुकाम जोड्ने सूचना महामार्ग निर्माणलाई प्याकेजमा अगाडि बढाइएको छ । पहिलो प्याकेज (प्रदेश नं १, २ र बागमती प्रदेश) अन्तर्गत नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)सँग २ वर्षभित्र सम्पन्न गर्नेगरी सम्झौता गरी काम शुरू भएको छ । हालसम्म १ हजार ६ (४६.१६ प्रतिशत) किलोमिटर अप्टिकल फाइबर बिछ्याइएको छ । पहिलो प्याकेजमा २ हजार १७९ किलोमिटर अप्टिकल फाइबर बिछ्याउने सम्झौता भएको थियो । देशको ग्रामीण र दुर्गम क्षेत्रमा ब्रोडब्यान्ड इन्टरनेट सेवा पुर्‍याउने उद्देश्यले १, २ र बागमती गरी तीनओटा प्रदेशअन्तर्गत मध्यपहाडी लोकमार्ग तथा जिल्लामा अप्टिकल फाइबर केवल ओछ्याउन दूरसञ्चार प्राधिकरण र टेलिकमबीच २०७३ असोज १२ मा सम्झौता भएको थियो ।

२७ डेन्स वेबलेन्थ डिभिजन मल्टिप्लानिङ प्रणाली (डीडब्ल्यूडीएम सिस्टम)को जडान भई पहिलो क्लस्टरको क्षेत्रमा फिजिकल एबिलिटी टेस्ट (पीएटी) तथा दोस्रो क्लस्टरको क्षेत्रमा काम भइरहेको छ । ४७ कोर राउटर इक्वीपेमेन्ट जडान गर्ने कार्य सम्पन्न भई फिजिकल पीएटी सम्पन्न भएको छ । दोस्रो प्याकेज (बागमती प्रदेश र लुम्बिनी प्रदेश) अन्तर्गत भने युनाइटेड टेलिकमले २ वर्षभित्र काम सक्नेगरी सम्झौता भए पनि कार्यको प्रगति शून्य देखिएपछि प्राधिकरणले सम्झौता म्याद थप गरेको छैन । त्यसबारे सर्वोच्चमा मुद्दा परेको र मुद्दा टुंगो नलागेसम्म अवधि थप नगर्न अन्तरिम आदेश भएको छ । तेस्रो प्याकेजअन्तर्गत टेलिकमसँग २ वर्षभित्र कार्य सम्पन्न गर्नेगरी सम्झौता भएको थियो ।

सो कार्यका लागि सम्झौता भई कार्यान्वयनको चरणमा रहेको छ । कर्णाली र सुदूरपश्चित प्रदेशका लागि बोलपत्र मूल्यांकनको क्रममा रहेको छ । गण्डकी र लुम्बिनीमा २ हजार १६० र कर्णाली र सुदूरपश्चित प्रदेशमा १ हजार ९९२ किलोमिटर दूरीसम्म अप्टिकल फाइबर बिछ्याउने सम्झौता भएको छ । देशका विभन्न स्थानमा सडक विस्तार, बाढीपहिरो, हावाहुरी र चट्याङका कारण अप्टिकल फाइबरमा अवरोध आएको गुनासो भने बढ्दै गएको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्