शुरू भएन चक्रपथको दोस्रो खण्डको काम



काठमाडौं,भदौ १७। सडक निर्माण गर्ने स्थान खाली नहुँदा चक्रपथको दोस्रो खण्ड (कलंकीदेखि चावहिल धोबीखोलासम्म)को सडक विस्तार अघि बढ्न सकेको छैन । चीन सरकारको सहयोगमा निर्माण गर्न लागिएको सडकमा निर्माणस्थल खाली गर्न थालिएको २ वर्षमा पनि अझै सकिएको छैन ।     

सो सडक खण्डमा अझैसम्म कतिपय व्यक्तिगत घर र विद्युत्का खम्बा हटाउन बाँकी छ । विद्युत्का खम्बा हटाउने काम अन्तिम चरणमा पुगेको छ भने महाराजगञ्ज चोक आसापासमा रहेका घर हटाउन बाँकी रहेको सडक विभागले बताएको छ । चक्रपथको पहिलो खण्ड निर्माण सम्पन्न भएसँगै दोस्रो खण्डको निर्माण शुरू गर्न खोजिए पनि लामो समयसम्म निर्माणस्थल खाली हुन नसकेको हो ।

कहिलेसम्म निर्माणस्थल खाली भइसकेर हस्तान्तरण हुने भनेर टुंगो नभएको सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख रामहरि पोखरेलले बताए । समस्या भएको ठाउँ छाडेर बाँकी निर्माणस्थल चिनियाँ टोलीलाई हस्तान्तरण गर्न प्रक्रिया अघि बढाइएको छ । ‘समस्या भएका ठाउँमा समाधान गर्दै अरू ठाउँमा विस्तार अघि बढाइनेछ,’ उनले भने । सडक विस्तारको काम कहिलेदेखि शुरू गर्ने भन्ने अन्योल रहेको छ । महाराजगञ्ज क्षेत्रमा २४४ मिटर लम्बाइमा समस्या रहेकाले त्यसबाहेक हस्तान्तरण गर्ने योजना बनाइएको महाशाखा प्रमुख पोखरेलले बताए । विभागले सो विषयमा मन्त्रालयमा फाइल पठाइएको थियो । अहिलेसम्म फाइल फर्किएर नआएको उनले बताए । ‘महाराजगञ्ज चोकमा पनि चक्रपथको बाहिरी भाग बूढानीलकण्ठतर्फ समस्या छ, बाँकी ठाउँमा काम अघि बढाउन सकिन्छ,’ उनले भने ।

चीन सरकारले निर्माण गर्ने आठ लेनमै निर्माणस्थल खाली गर्न लागिएको हो । त्यसभन्दा बाहिरी भागमा समस्या भए पनि विस्तारै खाली गरिने विभागले बताएको छ । महाराजगञ्ज क्षेत्रमा सडकको अधिकार क्षेत्रमा पर्ने घरधनीले सो स्थानमा रहेका संरचना हटाउन मुआब्जाको माग गरेका छन् । स्थानीयवासीले मुआब्जा माग गरे पनि विभागले पहिले नै सो जग्गा विभागको स्वामित्वमा रहेको बताउँदै आएको छ ।

२०३० सालमा जग्गा सडकको स्वामित्वमा ल्याएको सूचना निकालिएकाले अहिले मुआब्जा दिनु नपर्ने विभागले बताएको छ । व्यक्तिगत सम्पत्तिको विषय भएकाले कागजात प्रष्ट भएपछि मात्रै मुआब्जा दिन मिल्ने वा नमिल्ने भन्ने टुंगो लगाइने पोखरेलको भनाइ छ ।

सडक विभागले चिनियाँ टोलीलाई डिजाइन प्रस्ताव गर्दा प्रत्येक किमीमा आकाशे पुल र सवारी चाप बढी भएका चोकमा ‘अण्डर पास’ र ‘ओभर पास’को प्रस्ताव गरेको छ । विभागले गरेको प्रस्तावअनुसार नै हुने÷नहुनेबारे उसको विस्तृत डिजाइन आएपछि मात्रै थाहा हुने बताइएको छ । विस्तृत डिजाइन आएपछि कति काम चिनियाँले गर्ने र कति सरकारले गर्ने भन्ने टुंगो लाग्ने पोखरेलले बताए ।

चक्रपथको पहिलो खण्डमा पनि चीन सरकारले आठ लेन निर्माण र तीन आकाशे पुल बनाएको थियो । सडक विभागले ६ स्थानमा आकाशे पुल र मुख्य सडकका दुवैतर्फ एकएक लेनको ‘सर्भिस ट्र्याक’ निर्माण गरेको थियो ।

महाराजगञ्ज क्षेत्रमा रहेका व्यक्तिगत घरबाहेक यहाँका विद्युत्का खम्बा नहट्नु पनि समस्याको रूपमा रहेको छ । विद्युत्का खम्बा हटाउने काम छिट्टै गर्न नेपाल विद्युत् प्राधिकरणलाई भनिएको काठमाडौं चक्रपथ सुधार योजनाका प्रमुख अर्जुन सुवालले बताए । प्राधिकरणले केही दिन पहिले नै सकाउने लक्ष्य लिए पनि वर्षाका कारण अझै नसकिएको उनको भनाइ छ ।

विभागले एक महिना पहिले चिनियाँ टोलीलाई निर्माणस्थल खाली भएकाले विस्तार शुरू गर्न पत्राचार गरेको थियो । त्यसको लगतै टोलीले आएर स्थलगत भ्रमण पनि ग¥यो । विद्युत्का खम्बाको फोटो देखाएर उसले निर्माणस्थल खाली नभएको प्रतिक्रिया दिएको थियो । ‘त्यो खाली हुनासाथ सडक हस्तान्तरण भएर काम शुरू हुनेछ,’ उनले भने ।

काठमाडौं उपत्यकाका अधिकांश स्थानमा सडक निर्माण गर्दा त्यहाँ रहेका संरचना हटाउन नसकिँदा निर्माणमा ढिलाइ हुने गरेको छ । सडकमा रहेका संरचना र त्यसको व्यवस्थापनका विषयमा शहरी विकास मन्त्रालयले विधेयक बनाउने भने पनि अझै संसद्मा पेश भइसकेको छैन । अधिकांश स्थानमा निर्माणका लागि ठेक्का सम्झौता हुँदासम्म निर्माणस्थल खाली भएको हुँदैन । चीन सरकारको सहयोगमा निर्माण भएको कोटेश्वर–कलंकी सडकमा पनि त्यहाँ रहेका संरचना हटाउन समय लागेकाले ढिलाइ भएको थियो । निर्माण शुरू भएपछि समयमै सकाउन यो खण्डमा चिनियाँले पहिले नै निर्माणस्थल खाली गर्न भनेको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्