८ महीनामा ६७ हजार पर्यटक आए



काठमाडौं,भदौ १८ । सन् २०२१ को दोस्रो चौमासिकसम्ममा नेपाल आउने पर्यटकको संख्या ६६ हजार ९६६ पुगेको छ । सन् २०१९ पछि नेपाल आउने पर्यटकको संख्यामा सर्वाधिक कमी आएका बेला यो वर्षको ८ महीनामा ती पर्यटक नेपाल आएका हुन् ।

नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सबैभन्दा धेरै पर्यटक मार्च र अप्रिल महीनामा आएका छन् । अप्रिल महीनामा नेपालमा २२ हजार ५४० पर्यटक आएका छन् भने मार्चमा नेपाल आउनेको संख्या १४ हजार ९७७ रहेको छ । उक्त समयमा पर्यटक नेपालमा ट्रेकिङका लागि आउने गर्छन् ।

सगरमाथाका साथै अन्य शिखर तथा हिमालहरू आरोहणका लागि आउनेको संख्या बढी हुने गर्छ । बोर्डका अनुसार अगस्त महीनामा नेपालमा ५ हजार ९१७ जना पर्यटक नेपाल आएका छन् । यस ३३ देशबाट नेपालमा पर्यटक आएका छन् । सबैभन्दा कम जुन महीनामा १ हजार १४३ जना नेपाल आएका छन् ।

सन् २०१९ मा नेपालमा सबैभन्दा धेरै करीब १२ लाख पर्यटक नेपालमा आएका थिए । तर, त्यसयता कोरोना भाइरस (कोभिड–१९)का कारण पर्यटक आगमनको संख्या निरन्तर ओरालो लागेको छ ।

८ महीनामा उक्त संख्यामा पर्यटक आए पनि घुम्न र ट्रेकिङका लागि आउनेको संख्या भने कम भएको होटेल एसोशिएशन नेपाल हानका महासचिव साजन शाक्यले बताए ।

उनले ती पर्यटक सेमिनार, गोष्ठी, विभिन्न आयोजनामा काम गर्ने कर्मचारीहरू रहेको बताए । यसले गर्दा विदेशी पर्यटकहरू आएर पर्यटन व्यवसायलाई सघाउन नपुगेको भन्दै उनले उत्साहित हुन सक्ने वातावरण नभएको बताए ।

अहिले कोरोना भाइरसको खोप लगाइसकेको र संक्रमण पनि कम हुँदै आएकाले थप प्रचारप्रसार गर्न र नेपाल घुम्न सुरक्षित छ, भन्ने सन्देश दिन आवश्यक भएको उनले बताए । उनले आगामी पर्यटकीय सिजनका लागि पनि विभिन्न देशबाट चासो आएको जानकारी दिए ।

बोर्डका अनुसार अगस्त महीनामा सार्क मुुलुकहरूबाट बढी पर्यटक आएका छन् । बंगलादेश, भारत, पाकिस्तान, भुटान, श्रीलंकाबाट गरी २ हजार १९२ जना पर्यटक नेपाल आएका छन् । यीमध्ये भारतबाट मात्रै १ हजार ९८५ जना नेपाल आए ।

यूरोपेली देशबाट अगस्त महीनामा १ हजार १५ जना आएका छन् । एशियाका अन्य मुलुकहरू चीन, जापान, सिंगापुर, दक्षिण कोरिया, ताइवान, म्यानमार, थाइल्यान्डबाट कुल ४२३ जना आएका छन् । सन् २०२० नेपालमा २ लाख ३० हजार पर्यटन नेपाल घुम्न आएका थिए । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्