ठूला जलविद्युत् आयोजना अगाडि बढाइँदै



काठमाडौं,भदौ २० । नेपाल विद्युत् प्राधिकरणले मुलुकको विद्युत् माग र आपूर्ति व्यवस्थापनलाई सन्तुलन कायम गर्न ठूला जलाशययुक्त र अर्धजलाशययुक्त जलविद्युत् आयोजना निर्माणलाई प्राथमिकता साथ अगाडि बढाउने भएको छ ।

प्राधिकरणले ८ सय ३५ मेगावाटको दूधकोशी जलाशययुक्त र १ हजार ६१ मेगावाटको माथिल्लो अरूण तथा २ सय १० मेगावाटको चैनपुर सेती अर्धजलाशययुक्त जलविद्युत् आयोजनाहरू एक साथ अगाडि बढाउन लागेको छ । ३ ओटै आयोजना अहिले विस्तृत अध्ययनको अन्तिम चरणमा छन् ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ तीनओटा जलविद्युत् आयोजनाको विस्तृत इन्जिनीयरिङलाई अन्तिम रूप दिने, निर्माणका लागि ठेकेदार छनोटका टेन्डर कागजात तयार गर्ने, पहुँच सडक, जग्गा अधिग्रहण, वित्तीय व्यवस्थापनका लागि स्वदेशी वित्तीय संस्था तथा अन्तरराष्ट्रिय दातृ निकायहरूसँगका छलफललगायतलाई समानान्तर रूपमा अगाडि बढाइएको बताए ।

‘दैनिक एवं मौसमी विद्युत् माग र आपूर्तिको सन्तुलन कायम गर्न र मुलुकभित्र खपत हुन नसकेको विद्युत् छिमेकी मुलुकमा निर्यातका लागिसमेत जलाशययुक्त र अर्धजलाशययुक्त आयोजनालाई उच्च प्राथमिकतामा लागि निर्माण अगाडि बढाउनु लागिएको हो,’ घिसिङले भने । ‘१ वर्षभित्रमा निर्माणपूर्वका सम्पूर्ण कामहरू सकेर निर्माणमा लैजाने गरी तीव्रताका साथ काम गरिरहेका छौं,’ उनले भने ।

अर्थ मन्त्रालयमार्फत एशियाली विकास बैंक (एडीबी)को नेतृत्वमा दूधकोशीमा लगानीका लागि यूरोपेली लगानी बैंक (ईआईबी), एशियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) र कोरियाली एक्जिम बैकसँग छलफल भइरहेको घिसिङले बताए । ‘सरकारले कार्यान्वयमा ल्याएको नेपालको पानी जनताको लगानी कार्यक्रमअन्तर्गत सर्वसाधारण नागरिकलाईसमेत शेयर निष्कासन गरी रकम जोहो गर्ने छौं, यसबाट आयोजनाबाट प्राप्त हुने प्रतिफल नागरिक तहसम्म नै पुग्छ,’ उनले भने ।

दूधकोशीको अनुमानित आधार लागत १ अर्ब ५३ करोड डलर (करीब १ खर्ब ७८ अर्ब रुपैयाँ) र निर्माण अवधिको ब्याज, करसहित सम्पूर्ण लागत करीब २ अर्ब डलर पुग्ने अनुमान गरिएको छ । अध्ययन भएका जलाशययुक्त आयोजनामध्ये लागत र ऊर्जा उत्पादनका आधारमा दूधकोशी तुलनात्मक रूपमा सस्तो र आकर्षक मानिएको छ ।

खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा पर्ने आयोजनाबाट वार्षिक ३ अर्ब ४४ करोड युनिट ऊर्जामध्ये हिउँद र वर्षामा क्रमशः १ अर्ब ३६ करोड र २ अर्ब ८ करोड युनिट ऊर्जा उत्पादन हुने अध्ययनले देखाएको छ । आयोजनाले पहुँच सडक निर्माण र बाँध निर्माणस्थलभन्दा माथि डुबान क्षेत्रमा पर्ने खोटाङतर्फको करीब १३ हजार रोपनी जग्गा अधिग्रहणका लागि सार्वजनिक सूचना प्रकाशित गरिसकेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अर्धजलाशययुक्त माथिल्लो अरुणलाई उच्च प्राथमिकतामा राखी ‘गेम चेन्जर’ आयोजनाका रूपमा अगाडि बढाइने बताए ।

‘जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत ४ अंकको जडितक्षमता (१०६१ मेगावाट) र प्राधिकरणले निर्माण गर्न लागेको अहिलेसम्मकै ठूलो यस आयोजनामा ४९ प्रतिशत सर्वसाधारणको शेयर र विश्व बैंक, यूरोपेली लगानी बैंकको सुहलियतपूर्ण ऋण तथा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषजस्ता स्वदेशी वित्तीय संस्थाको लगानी रहने मोडलमा वित्तीय व्यवस्थापन गरी निर्माण अगाडि बढाइनेछ,’ उनले भने ।

आयोजनामा संघीय, प्रदेश र स्थानीय सरकारको पनि लगानी रहनेछ । विद्युत् बढी माग हुने हिउँदका ६ महीनामा दैनिक ६ घण्टा पूर्ण क्षमतामा चलाउन सकिने आयोजनाको अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक करीब १ अर्ब २० करोड अमेरिकी डलर छ । कुल लागतमध्ये ३० प्रतिशत स्वपूँजी र ७० प्रतिशत ऋणबाट जोहो गर्ने प्राधिकरणको योजना रहेको छ । आयोजनाबाट वार्षिक ४ अर्ब ५३ करोड युनिट ऊर्जा उत्पादन हुनेछ । प्राधिकरणले माथिल्लो अरुणकै अंग रहने गरी ३० मेगावाटको इखुवा जलविद्युत् आयोजना अगाडि बढाएको छ । इखुवा पनि जनता जलविद्युत् कार्यक्रममा समावेश भएको आयोजना हो ।

बझाङमा पर्ने चैनपुर सेतीलाई सुदूरपश्चिम प्रदेशको गेमचेन्जर आयोजनाका रूपमा अगाडि बढाइनेछ । जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत निर्माण गरिने आयोजनामा संघीय, प्रदेश र स्थानीय सरकार, आयोजना प्रभावित, मुलुकभरका सर्वसाधारण नागरिकको लगानी रहनेछ । आयोजनालाई इन्जिनीयरिङ, खरीद र निर्माण (ईपीसी) मोडलमा निर्माणका लागि टेन्डर कागजपत्र तयार, पहुँच सडक निर्माण, जग्गा अधिग्रहणलगायत काम भइरहेको प्राधिकरणले जनाएको छ । हिउँदमा ६ घण्टा पूर्ण क्षमतामा चल्न सक्ने आयोजनाबाट वार्षिक १ अर्ब १६ करोड युनिट ऊर्जा उत्पादन हुनेछ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्