वागमती प्रदेश : कृषि, पर्यटन र ऊर्जामा बढी सम्भावना



काठमाडौं,भदौ २१ । वागमती प्रदेशमा ऊर्जा, पर्यटन र कृषिक्षेत्रको उच्च व्यावसायिक सम्भावना देखिएको छ । यस प्रदेशभित्र उच्च भौगोलिक विविधता रहेकाले कृषि, पर्यटन र ऊर्जाको तुलनात्मक रूपमा बढी सम्भावना देखिएको हो ।

नेपाल राष्ट्र बैंकले वागमती प्रदेशको आर्थिक गतिविधि सम्बन्धमा गरेको अध्ययनले यस्तो देखाएको हो । राष्ट्र बैंकले गत आर्थिक वर्षको पहिलो ६ महीनाको तथ्यांकको आधारमा उक्त अध्ययन गरेको थियो । उक्त अध्ययनको प्रतिवेदन हालै सार्वजनिक गर्दै त्यहाँ कृषि, पर्यटन र ऊर्जाको तुलनात्मक रूपमा बढी सम्भावना देखिएको बताएको हो ।

यस प्रदेशअन्तर्गतका जिल्लामध्ये हिमाली भेगमा धादिङ, काभ्रेपलाल्चोक र नुवाकोट, उपत्यकामा काठमाडौं, भक्तपुर र ललितपुर तथा भित्री मधेशमा मकवानपुर, चितवन जिल्ला रहेका छन् । यसरी प्रदेश भित्र उच्च भौगोलिक विविधता रहेको हुँदा यस्तो सम्भावना देखिएको हो ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले वागमतीमा कृषि, पर्यटन र ऊर्जाको बढी सम्भावना देखिएको बताए । ‘हुन त अन्य क्षेत्रमा पनि सम्भावना छन्, तर बढी मात्रामा कृषि, पर्यटन र ऊर्जामा व्यावसायिक सम्भावना देखिएको छ,’ उनले भने, ‘यो नै पूर्ण नहुन पनि सक्छ । तर, हामीले फिल्ड भिजिट नै गरेर यस्तो निष्कर्ष निकालेका हौं ।’

वागमती प्रदेशमा जलविद्युत् उत्पादनका लागि उपयुक्त भौगोलिक अवस्थिति र जलस्रोतको उपलब्धता रहेको प्रतिवेदनमा उल्लेख छ । विशेषगरी दोलखा, सिन्धुपाल्चोकलगायत जिल्लामा जलविद्युत्को उच्च सम्भावना देखिएको छ ।

कृषितर्फ धादिङ, भक्तपुर, काभ्रे तथा नुवाकोटलाई तरकारी पकेट क्षेत्रका रूपमा विकास गर्न सकिने अध्ययनले देखाएको छ । यस प्रदेशमा संघीय राजधानीको अतिरिक्त बनेपा, धुलिखेल, नारायणघाट, हेटौंडाजस्ता उच्च जनसंख्या भएका शहरहरू पनि छन् । उक्त अवस्थामा प्रशोधित खाद्यान्न, तरकारी, फलपूmल, माछा, मासुलगायत वस्तुको बजारको पनि उच्च सम्भावना रहेको अध्ययनले प्रतिवेदनमा उल्लेख छ ।

यसैगरि वैदेशिक रोजगारबाट फर्कने युवालाई कृषिक्षेत्रमा आकर्षण गर्न सके कृषिक्षेत्रलाई व्यवसायीकरण गर्न सकिने पनि अध्ययनले देखाएको छ । यसबाहेक अन्तरराष्ट्रिय उडानमार्फत उच्च मूल्यका कृषि उपजहरू पनि निर्यात गर्न सकिने पनि प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, यस प्रदेशमा पर्यटन व्यवसायको पनि उच्च सम्भावना देखिएको छ । विशेषगरी प्रदेशभित्र काठमाडाैं उपत्यका, चितवनको सौराहा, स्याफ्रुबेंशी, हेलम्बुलगायत पर्यटकीय क्षेत्र भएकाले पर्यटनको विकास गर्न सकिने अधिक सम्भावना रहेको प्रतिवेदनमा उल्लेख छ । यसका लागि पर्यटन पूर्वाधारमा पनि लगानी बढाउन आवश्यक रहेको देखिएको छ ।

यस प्रदेशमा धार्मिक, सांस्कृतिक, जातीय, भाषिक विविधिता रहेको छ । काठमाडौं उपत्यकामा ७ किमी भित्र रहेका विभिन्न सातओटा पर्यटकीय स्थलहरू विश्व सम्पदा सूचीमा सूचीकृत छन् । त्यसैले यस प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटनको उच्च सम्भावना देखिएको अध्ययनले देखाएको छ ।

यसैगरि वागमती प्रदेशमा रोजगारीका अवसर र जनसांख्यिक लाभको पनि उच्च सम्भावना देखिएको छ । आर्थिक गणना २०७५ अनुसार ३० प्रतिशत उद्योग प्रतिष्ठानहरू वागमती प्रदेशमा नै छन् । साथै, जनसंख्याको २० दशमलव ९ प्रतिशत जनसंख्या पनि यही प्रदेशमा रहेको छ । यस प्रदेशमा रोजगारीका अवसर र जनसांख्यिक लाभको उच्च सम्भावना रहेको अध्ययनले देखाएको छ । यस्तै, पूर्वाधार विकासमा पनि वागमती प्रदेशको उच्च सम्भावना देखिएको छ । संघीय राजधानी काठमाडांैलगायत प्रमुख शहरहरू यही प्रदेशमा नै छन् । त्यस्ता शहरहरू रेल, मोनो रेल, ट्राम, ट्रली, केबलकारजस्ता आधुनिक पूर्वाधारहरूको व्यावसायिक सम्भावना अधिक रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । यहाँ खाद्य तथा दूध प्रशोधन उद्योगहरूको पनि सम्भावना देखिएको छ । यस प्रदेशमा शहरीकरणको क्रम तीव्र रहेको र मुलुकको राजधानी समेत यसै प्रदेशभित्र अवस्थित भएकाले यस्तो सम्भावना रहेको राष्ट्र बैंकले बताएको छ ।

वागमती प्रदेशमा आन्तरिक र वैदेशिक लगानी भित्र्याएर उद्योग तथा व्यापार व्यवसाय विस्तार गर्न सकिने सम्भावना पनि देखिएको छ । यस प्रदेशमा हिमाल, पहाड, वन, नदी, खानी र खनिजलगायत प्राकृतिक स्रोत रहेका छन् । यस्तै, इन्टरनेट, यातायात, शिक्षालगायत आधारभूत सेवामा अग्रणी स्थानमा रहेको छ । बैंकिङ क्षेत्रको कुल निक्षेपमा ६९ प्रतिशत र कुल कर्जामा ५५ प्रतिशत यही प्रदेशको अंश रहेको छ । उक्त अवस्थामा आन्तरिक र वैदेशिक लगानी ल्याएर उद्योग तथा व्यापार व्यवसाय विस्तार गर्न सकिने बताइएको छ ।

वागमती प्रदेशमा अधिकतम राजस्व परिचालन गरी विकास निर्माणका कार्यलाई तीव्रता दिने सम्भावना पनि देखिएको छ । शहरीकरण, जनघनत्व, उद्योग, व्यपार, व्यवसाय, यातायात तथा सञ्चार आदिका कारण यस प्रदेशभित्र राजस्वका आधार फराकिलो छ । अधिकतम राजस्व परिचालन गरी विकास निर्माणका कार्यलाई तीव्रता दिने सकिने राष्ट्र बैंकले बताएको छ ।

वागमती प्रदेशमा चुनौती पनि उत्तिकै देखिएका छन् । विशेषगरी बढ्दो शहरीकरणका कारण मासिँदै गएको कृषि भू–क्षेत्रलाई संरक्षण गरी व्यावसायिक कृषि उत्पादनलाई प्रवर्द्धन गर्न चुनौती देखिएको छ । वातावरणीय प्रदूषण व्यवस्थापन, ट्राफिक व्यवस्थापन र व्यवस्थित शहरीकरणको विकास गर्न पनि चुनौती रहेको अध्ययनले देखाएको छ ।

पूर्वाधार विकासको गति बढाउन र विद्यमान पूर्वाधारहरूको समयमा नै मर्मत सम्भार गरी गुणस्तर कायम राख्न पनि चुनौती हुने बताइएको छ । भौगोलिक तथा धार्मिक सम्पदा, जैविक विविधता आदिको उचित संरक्षण र प्रवर्द्धन गरी पर्यटन क्षेत्रको विकास गर्न पनि चुनौती हुने अध्ययनमा देखाएको छ । वैदेशिक रोजगारी तथा शहरीक्षेत्रतर्फ पलायन श्रमशक्तिलाई कृषिक्षेत्रतर्फ आकर्षित गर्दै यस व्यवसायीकरण गर्न पनि चुनौती हुने बताइएको छ । साथै, बाँझो रहेका खेतीयोग्य जमीन उपयोगमा ल्याउन सामूहिक व्यावसायिक खेतीलाई प्रोत्साहित गर्न पनि चुनौती हुने राष्ट्र बैंकको भनाइ छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्