मध्य भोटेकोशी आयोजना डेढ वर्षभित्र सम्पन्न गरिने



आयोजना प्रभावितसँग सातबुँदे सहमति

सिन्धुपाल्चोक,भदौ २१ । मध्यभोटेकोशी जलविद्युत् आयोजना र स्थानीय सरोकार समितिबीच बृहत् छलफल गरिएको छ । छलफलमा प्रभावितहरूको समस्या समाधान गर्दै डेढ वर्षभित्र आयोजना सम्पन्न गरिने सहमति भएको छ । मध्य भोटेकोशी जलविद्युत् आयोजनाका प्रमुख सूर्यनाथ भुर्तेल, प्रबन्ध निर्देशक रामगोपाल शिवाकोटी, बाह्रबिसे नगरपालिकाका प्रमुख एवं स्थानीय सरोकार समितिका संयोजक निमफुञ्जो शेर्पा र आयोजना प्रभावित स्थानीयबीच बिहीवार भएको छलफलमा आयोजना प्रमुख सूर्यनाथ भुर्तेलले विगतका कमजोरी सच्याएर चाँडोभन्दा चाँडो आयोजना सम्पन्न गर्न जरुरी रहेको बताए । ‘अब चाँडोभन्दा चाँडो आयोजना सम्पन्न गर्नेतर्फ सोच्न जरुरी छ,’ उनले भने ।

६ वर्षअघिको भूकम्प, भारतीय नाकाबन्दी, भोटेकोशीमा बारम्बार आएको बाढी र कोभिड– १९ को महामारीका कारण आयोजनाको काम पछि घकेलिँदै गएको उनले बताए ।

प्रभावितहरूको माग पूरा गर्न आयोजना तत्पर रहेको भन्दै आयोजनाका प्रबन्ध निर्देशक शिवाकोटीले अबको डेढ वर्षभित्रै निर्माण सम्पन्न गरिसक्ने बताए । निर्माण छिटो सम्पन्न गर्न तथा प्रभावितको समस्या समाधान गर्न म स्वयम् आयोजना स्थलमा खट्ने प्रतिबद्धता उनले व्यक्त गरे । कामदारको ज्याला समेत लामो समय रोकिएको स्थानीयको गुनासो सम्बोधन गर्न मासिक रूपमै भुक्तानीको व्यवस्था मिलाउन आफूले निर्देशन दिइसकेको उनले बताए ।

प्रभावितहरूका सन्दर्भमा पटक पटक आश्वासन मात्रै भन्दै सरोकार समितिका संयोजक समेत रहेका नगर प्रमुख शेर्पाले अब पनि पूरा नभए प्रभावित जनताले नै आयोजना कब्जामा लिने चेतावनी दिए । प्रभावितलाई आयोजनाले एकघर एक रोजगारीको ग्यारेन्टी गर्नेगरी सम्झौता गरिए पनि कार्यान्वयन नगरिएको उनले बताए । आफू सरोकार समितिको संयोजक भए पनि महŒवपूर्ण निर्णय र काम गर्दा जानकारी नगराउने प्रवृत्ति आयोजनामा देखिएको उनको भनाइ थियो ।

आयोजनामा मेकानिकल कामको जिम्मा पाएको एन्ड्रिज हाइड्रोका साइट इञ्चार्ज भारतीय नागरिक सुरेन्द्र दवाडीलाई स्थानीयले हातपात गरेको प्रसंग जोड्दै नगर प्रमुख शेर्पाले प्रभावितलाई कुनै काम नदिएपछि स्थानीय आक्रोशित हुन पुगेको बताए । ‘सम्झौता पूर्णरूपमा कार्यान्वयन गर्ने हो भने आयोजनामा स्थानीयले कुनै अवरोध गर्दैनन्, त्यसको जिम्मा म लिन्छु,’ शेर्पाले भने ।

छलफलमा आयोजना प्रभावित बाह्रबिसे नगरपालिका–६ का मोहनलाल श्रेष्ठ, ७ का मिनबहादुर श्रेष्ठ, ८ का सुरज लामा, कार्यपालिका सदस्य बेलबहादुर रोक्का, भोटेकोशी गाउँपालिका– ५ का अध्यक्ष सुपा लामा लगायतले आयोजना प्रभावितहरूको माग पूरा गर्न जोड दिएका थिए ।

छलफलमा प्रभावितहरूको समस्या समाधान गर्न आयोजना र स्थानीय सरोकार समितिबीच सातबँुदे सहमति गरिएको छ । ठेकेदारसँग लिने रोयल्टी आयोजनाबाट ठेकेदारलाई समन्वय गर्ने, बाँकी रकम भुक्तानी गर्न लगाउने, आयोजनाबाट प्रभावित धनेश्वरी माध्यमिक विद्यालय भवन तत्काल निर्माण गर्ने, स्थानीय श्रमिकको भुक्तानी १ महीनाभित्रै गर्ने सहमति भएको हो ।

त्यसैगरी आयोजनाबाट क्षति पुगेको बोर्डरल्याण्ड रिसोर्टलाई जिल्ला प्रशासन कार्यालय मातहतमा बनेको क्षतिपूर्ति निर्धारण समितिले ठह¥याए बमोजिमको क्षतिपूर्ति दिने, मजदूरलाई आवश्यक लत्ताकपडा र स्वास्थ्योपचारको व्यवस्था गर्ने, आयोजना र सरोकार समितिको बैठक प्रत्येक महीना बस्ने र आयोजनाले लिएको ३७५ रोपनीभन्दा बढी जग्गा हकबन्दीको कारण समस्या देखिएकाले समाधानका लागि सरकारसँग अनुरोध गर्ने सहमति भएको बाह्रबिसे नगरपालिका प्रमुख एवं सरोकार समितिका संयोजक शेर्पाले जानकारी दिए । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको चाकुमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाले हालसम्म ६५ प्रतिशत मात्र काम सम्पन्न गरेको छ । सन् २०१३ मा शुरू भई २०१६ को डिसेम्बरमा सम्पन्न गर्ने लक्ष्य रहेको आयोजना भूकम्प, बाढी र कोभिड– १९ ले गर्दा निर्धारित समयभन्दा ६ वर्ष पछि धकेलिएको छ ।

आयोजनामा हाल नेपाली ७० र चिनियाँ १ सय ८९ गरी २ सय ५९ कामदार कार्यरत छन् । स्वदेशी लगानी १४ अर्ब ५० करोड रुपैयाँमा निर्माण भइरहेको आयोजनामा चिनियाँ कम्पनी ग्वाङ्सी हाइड्रो इलेक्ट्रिकल कन्स्ट्रक्शन ब्यूरो र एन्ड्रिज हाइड्रोले काम गरिरहेका छन् । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्