ह्वात्तै घट्यो सेयर बजार



काठमाडौं, भदौ २१। लगातार रूपमा घट्दै जान थालेको नेप्से परिसूचक आइतबार १०८.२६ अंकले घट्दा २८१८.७३ बिन्दुमा झरेको छ । नेप्से परिसूचक यसरी एकै दिन घटेको यो वर्षको पहिलो घटना हो ।

नेप्से परिसूचक घटे तापनि आइतबार २ करोड ३० लाख ७९ हजार ८ सय ३२ कित्ता सेयरको ११ अर्ब २४ करोड ३ लाख ९१ हजार ४७ रुपैयाँको कारोबार भएको छ । सो दिन पहिलो कारोबार हुने कम्पनीमा अरुण भ्याली हाइड्रो डेभलपमेन्ट रहेको छ ।

कम्पनीको सो दिन ७० करोड ३३ लाख रुपैयाँको कारोबार हुँदा हिमालयन डिस्टिलरीको ३० करोड १९ लाख रुपैयाँको कारोबार भएको छ । नेपाल बैंकको २५ करोड ३१ लाख रुपैयाँको कारोबार भएको छ भने नबिल बैंकको २४ करोड ६५ लाख रुपैयाँको कारोबार भएको छ । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको २१ करोड रुपैयाँको कारोबार भएको छ ।

हाइड्रोको मात्र सेयर मूल्य घट्दै गइरहेकोमा आइतबार अधिकांश कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लाग्यो । विकास बैंक समूह ७.२१ र फाइनान्स समूह ८.०१ प्रतिशत घट्न पुगेको थियो ।

बजार खुलेदेखि नै उच्च अंकले गिरावट आउँदै २ घण्टामै १४७.३१ अंकसम्म घटेर ४० मिनेट कारोबार रोकिएको थियो । सेयर कारोबारमा सकारात्मक रूपमा बढे पनि र नकारात्मक रूपमा घटे पनि लगानीकर्तालाई सोच्ने समय दिनका लागि सर्किट ब्रेक गर्ने गरिन्छ ।

१ बजेर ३९ मिनेट ५५ सेकेन्डमा पुनः सुरु भएको कारोबारपछि भने झन्डै ३९ अंकले परिसूचक बढेपछि यस दिनको परिसूचक १०८.२६ अंकमा सीमित हुन पुुग्यो ।

यति ठूलो संख्यामा घटेको बजारमा पनि सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ९.९७ प्रतिशतले बढेर ३७३.८० अंक पुगेको छ । नेप्से ३.७० प्रतिशतले घट्दा आइतबार सेन्सेटिभ परिसूचक पनि १९.७६ अंकले घटेर ५२२.०१ बिन्दुमा झरेको छ । स्टक एक्सचेन्जका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये सबै उपसमूहको सेयर घटेको छ ।

नाफा कमाउनेमा म्युचुअल फन्ड र डिबेन्चरसहित जम्मा १४ वटा कम्पनी छन् । जसमध्ये, सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् ।

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्