गुल्मीमा सबै व्यवसाय खोल्ने निर्णय, थपियो निषेधाज्ञा



गुल्मी,भदौ २१ । गुल्मीमा जारी निषेधाज्ञालाई सबै पसल व्यवसाय खुल्ला गर्दै भदौं ३१ गतेसम्म थप गरिएको छ । जिल्ला कोभिड १९ व्यवस्थापन समितिको बैठकले स्वास्थ्य मापदण्ड अपनाउदै सबैखाले पसल व्यवसाय खुल्ला गर्ने निर्णय भएको हो ।

कोरोना संक्रमणको दर कायमै रहेता पनि सबैखाले पसल व्यवसायहरु, बैक र बित्तिय संस्था, होटल तथा रेष्टुरेण्टहरु स्वास्थ्य मापदण्ड अपनाएर पूर्णरुपमा सञ्चालन गर्न पाउने भएका छन् । यसअघिको निषेधाज्ञामा निश्चित समय तोकेर पसल व्यवसाय खोल्न पाउने निर्णय गरिदै आएको थियो ।

गत बैशाख १७ गतेदेखि निरन्तर जारी गरिदैँ आएको निषेधाज्ञा कोरोना संक्रमणको अबस्था हेरेर चरणबद्ध रुपमा खुकुलो बनाइएको हो । यो अबधीमा संक्रमणको जोखिम उच्च भएका स्थानमा भौतिक उपस्थितिमा संचालन गर्न नपाइने भएको छ ।

बिद्यालय सञ्चालन गर्ने अधिकार स्थानीय तहले पाएका छन् । जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउन सम्बन्धी कार्यबिधी २०७८ कोभिड महामारीको अबस्थामा हुन सक्ने निषेधाज्ञाको प्रकृति अनुरुप जिल्ला कोभिड व्यवस्थापन समितिसँग समन्वय गरि स्थानीय तहले बिद्यालय सञ्चालनको निर्णय लिन सकिने भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन ।बिद्यालय संचालन गर्न सक्ने स्थानीय तहले बिद्यालय सञ्चालनको नियमित रुपमा अनुगमन गरी स्वास्थ्य मापदण्डको पालना गर्ने वातावरण सिर्जना गर्ने निर्णय भएको छ । त्यस्तै कुनै बिद्यालयको स्वास्थ्य मापदण्डको पालना नगरेको पाइएमा प्रशासन,व्यस्थापन प्रधानाध्यापक, प्रिन्सिपललाई जिम्मेवार बनाई स्थानीय तहले कारवाही गर्ने निर्णय गरिएको शर्माले बताइन ।

थपिएको निषेधाज्ञामा अनाबश्यक रुपमा मानिसहरु जम्मा हुने, सभा, जुलुस, जात्रा, भोज भतेर, महोत्सव गर्न नपाइने भएको छ । यस अबधीमा पर्ने चाडपर्व, धार्मिक, सामाजिक सांस्कृतिक कृयाकलापहरु स्वास्थ्य मापदण्डको पालन गरी न्यूनतम सहभागितामा सांकेतिक रुपमा मात्र गर्न पाइने भएको प्रमुख जिल्ला अधिकारी शर्माको भनाई छ । निजि तथा सार्बजनिक सवारी साधानहरुले सिट क्षमता बढी यात्रु राख्न नपाइने भएको छ । चालक र सहचालकले अनविार्य रुपमा भाइजार लगाउन पर्ने निर्णय गरिएको छ ।

प्रयोग भइसकेपछि अनिवार्य रुपमा सवारी साधन दैनिक निसंक्रमण गर्नुपर्ने निर्णभ भएको छ । स्थानीय तहमा संक्रमणको उच्च देखिएमा जिल्ला कोभिड १९ व्यवस्थापन समितिको अनुमतिमा कुनै निश्चित वडा तथा समुदायमा अत्यावश्यक बाहेकका क्रियाकलापमा स्थानीय तहबाटै नै रोक लगाउने निर्णय गरिएको छ ।कोभिड १९ का लक्षण देखिएका र संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरु नजिकको स्थानीय तह र अस्पतालमा गई निशुल्क एन्टिजेन वा पिसिआर परिक्षण गर्ने गराउने निर्णय गरिएको छ । कोरोनाका संक्रमित निरन्तर भइरहेको अबस्थामा लकडाउन खुकुलो बनाएपछि नागरिकमा फेरि पनि कोरोना संक्रमणको त्रास छाएको छ ।

जिल्लामा दोस्रो लहरको रुपमा फैलिएको कोरोनाबाट २९८ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना संक्रमणबाट ९६ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्