जीवन बीमा व्यवसाय : पुरानालाई पछि पार्दै नयाँ कम्पनीहरू



काठमाडौं,भदौ २२ । जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्षको पहिलो महीना अर्थात् साउनमा रू. २ अर्ब ७४ करोड बराबरको नयाँ व्यवसाय गरेका छन् । साउनमा ६ लाख २३ हजार ८४४ ओटा नयाँ बीमालेख विक्री गरेर जीवन बीमा कम्पनीहरूले सो बराबरको प्रथम बीमाशुल्क संकलन गरेका हुन् ।

बीमा समितिबाट प्राप्त साउन महीनाको जीवन व्यवसायसम्बन्धी तथ्यांकअनुसार साउनमा जीवन बीमा कम्पनीहरूको नयाँ व्यवसाय मात्र २३ दशमलव ४२ प्रतिशतले बढेको छ । गत आवको साउन महीनामा रू. २ अर्ब २२ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन भएको थियो ।

हाल नेपालमा १९ जीवन बीमा कम्पनी सञ्चालन छन् । उनीहरूले गत साउनमा उक्त बराबरको प्रथम बीमाशुल्क संकलन गरेका हुन् ।

साउनमा कम्पनीहरूको कुल व्यवसाय २७ दशमलव ३८ प्रतिशतले बढेको छ । गत आवको साउनमा कम्पनीहरूले रू. १३ अर्ब ४ करोड कुल बीमाशुल्क संकलन गरेका थिए । चालू आवको उक्त अवधिमा कम्पनीहरूले रू. १६ अर्ब ६१ करोड कुल बीमाशुल्क संकलन गरेको बीमा समितिको तथ्यांकमा उल्लेख छ ।

साउन महीनामा बीमा व्यवसाय गर्न चुनौतीपूर्ण हुने गर्छ । वर्षात्को मौसम, क्लोजिङको काम, नयाँ योजना बनाउनेलगायत कारण यस समयमा व्यवसायतर्पm त्यति ध्यान दिन सकिँदैन । तर, त्यस्ता चुनौतीका बीच पनि साउनको व्यवसायमा उच्च वृद्धि देखिएको छ ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले साउनमा जीवन बीमाको व्यवसायमा उत्साहपूर्ण वृद्धि देखिएको बताए ।

युनियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले पनि यसपालि साउन महीनामा राम्रो व्यवसाय भएको बताए । ‘चालू आवको शुरुआती महीना भएका कारण यस समयमा सामान्यता व्यवसायमा त्यति वृद्धि देखिँदैन थियो । तर, यसपालिको व्यवसायमा राम्रो वृद्धि देखिएको छ,’ उनले भने, ‘कोरोना महामारी पनि त्यस समयमा केही शान्त देखियो । आर्थिक क्षेत्र पनि चलायमान भए । त्यसको कारणले पनि यस्तो भएको हुन सक्छ ।’

साउनमा नयाँ व्यवसाय गर्ने मामलामा नेपाल लाइफ इन्स्योरेन्स अग्र स्थानमा देखिएको छ । कम्पनीले साउन महीनामा रू. ५८ करोड प्रथम बीमाशुल्क संकलन गरेको छ । दोस्रो स्थानमा नेशनल लाइफ इन्स्योरेन्स देखिएको छ । कम्पनीले समीक्षा अवधिमा २५ करोड प्रथम बीमाशुल्क संकलन गरेको छ । यसैगरी तेस्रो स्थानमा रहेको प्रभु लाइफले रू. २३ करोड प्रथम बीमाशुल्क संकलन गरेको छ ।

नयाँ व्यवसाय गर्ने मामलामा नयाँ जीवन बीमा कम्पनीहरूले पुराना कम्पनीहरूले पछि पार्दै गएको देखिएको छ ।

नेपाल लाइफ र नेशनल लाइफबाहेक अन्य कम्पनीहरूलाई नयाँ कम्पनीहरूले पछि पारेका छन् । प्रभु लाइफ, युनियन लाइफ, सिटीजन लाइफ, रिलायबल नेपाल लाइफ, आईएमई लाइफले अधिकांश पुराना कम्पनीलाई पछि पारेको देखिन्छ ।

३ वर्षअघि नेपाली बीमा बजारमा १० ओटा नयाँ जीवन बीमा कम्पनी थपिएका थिए । तीमध्ये अधिकांश कम्पनीले पुरानालाई पछि पार्दै गएको देखिएको हो । बढी प्रथम बीमाशुल्क संकलन गर्ने उत्कृष्ट ५ कम्पनीमध्ये ३ ओटा त नयाँ कम्पनी रहेका छन् । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्