साढे ५१ अर्ब बराबरको वैदेशिक सहायता स्वीकार



विद्यालय क्षेत्र सञ्चालन प्रयोजनका लागि करीब ५ अर्ब ५४ करोड सहायता, स्वास्थ्य क्षेत्र सुधारका लागि ४५ अर्ब ९४ करोड सहुलियतपूर्ण ऋण

काठमाडौं,भदौ २२। दातृ निकायले विभिन्न क्षेत्रमा दिन लागेको करीब साढे ५१ अर्ब रुपैयाँ बराबरको सहायता सरकारले स्वीकार गरेको छ । दातृ निकायले शिक्षा क्षेत्र र स्वास्थ्य क्षेत्रमा दिने ५१ अर्ब ४८ करोड रुपैयाँ सहायता स्वीकार्ने निर्णय सोमवार बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो ।

अन्तरराष्ट्रिय विकास संस्थाबाट विद्यालय क्षेत्र सञ्चालन गर्ने प्रयोजनका लागि करीब ५ अर्ब ५४ करोड र स्वास्थ्य क्षेत्र सुधारका लागि ४५ अर्ब ९४ करोड रुपैयाँ बराबरको अतिरिक्त सहुलियतपूर्ण ऋण सहयोग आउने भएको छ । यसैगरी सरकारले राष्ट्रिय जनगणना–२०७८ को संशोधित कार्यतालिका स्वीकृत गरेको छ । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले यसअघि कोरोना महामारीका कारण जनगणनासम्बन्धी कार्यतालिका प्रभावित भएकाले नयाँ कार्यतालिका स्वीकृत गरिएको बताए ।

बैठकले दार्चुलाको छाङ्गरुमा सुरक्षाकर्मी बस्ने ब्यारेक भवन निर्माण गर्ने र स्व. बीपी कोइरालाको नाममा राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय पनि भएको छ । यस्तै आर्थिक वर्ष २०७८/८९ मा विभिन्न आयोजनाका लागि स्थायी तथा अस्थायी दरबन्दी सृजना गर्ने निर्णय बैठकले गरेको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठन भएको वर्तमान गठबन्धन सरकारले छिट्टै पूर्णता पाउने सरकारका प्रवक्ता एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री  कार्कीले बताए । मन्त्रिपरिषद्को बैठकपछि सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले गठबन्धनमा संलग्न दलहरूको सहमतिमा सरकारले छिट्टै पूर्णता पाउने जानकारी गराएका हुन् ।

प्रवक्ता कार्कीले अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको चालू आर्थिक वर्षको बजेट संशोधन हुने समेत बताए । प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग पनि आफूले सरकारको तर्फबाट छलफल गरेको भन्दै उनले सहमतिका आधारमा बजेट संशोधन हुने उल्लेख गरे ।

गत जेठ १५ गते तत्कालीन सरकारले अध्यादेशमार्फत चालू आवको बजेट ल्याएको थियो । संघीय संसद्को बैठक आह्वान गर्न केही दिनमात्रै बाँकी रहेका बेला तत्कालीन ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटनको सिफारिश गरेको थियो । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्